१५ कार्तिक २०८३ ,शनिबार

वी क्यान एजुकेसन नेपाल भक्तपुरद्वारा ३२औँ विश्व शिक्षक दिवसमा दीर्घ शिक्षक सेवा सम्मान


 

  • शिक्षकको समर्पणको कदर गर्दै गुणस्तरीय, संस्कारयुक्त र सिर्जनात्मक शिक्षामा जोड

२७ असोज भक्तपुर ३२औँ विश्व शिक्षक दिवसको अवसरमा वी क्यान एजुकेसन नेपाल, भक्तपुरले सदस्य विद्यालयमा लामो समयदेखि समर्पित भई शिक्षण सेवामा योगदान पुर्‍याउँदै आएका शिक्षक–शिक्षिकालाई सम्मान गरेको छ। शिक्षकको योगदानको कदर गर्ने, शिक्षण पेसाप्रति सम्मान बढाउने तथा शैक्षिक क्षेत्रका विभिन्न सरोकारवालाबीच सहकार्य, एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

नगरकोटस्थित होटल भिस्टा रिट्रिटमा आयोजित कार्यक्रममा दीर्घ शिक्षक सेवा सम्मानअन्तर्गत शिक्षक–शिक्षिकालाई सम्मानपत्र, मेडल, तक्मा तथा प्रेरणादायी पुस्तक प्रदान गरिएको थियो। साथै, सम्मानित शिक्षकहरूलाई प्रोत्साहनस्वरूप शैक्षिक चलचित्रका टिकटसमेत प्रदान गरिएको थियो।

छ शिक्षक–शिक्षिका दीर्घ शिक्षक सेवा सम्मानबाट सम्मानित

कार्यक्रममा शिक्षण सेवामा निरन्तर योगदान पुर्‍याउँदै आएका पाथीभरा एकेडेमीकी लक्ष्मी प्रधानाङ, सभ्यता शिक्षालयकी महिमा बयलकोटी, आरक्षण नेशनल एकेडेमीकी रितिमा भारती, ऋतम्भरा पाठशाला तथा कलेजकी रञ्जना चौगुठी, शिक्षा इङ्लिस स्कुलकी शारदा खड्का र माम्ती नेशनल स्कुलकी ममिता कार्कीलाई दीर्घ शिक्षक सेवा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमका सभापति तथा वी क्यान एजुकेसन नेपालका अध्यक्ष रमेशप्रसाद सिटौलाले शिक्षकको ज्ञान, अनुभव, धैर्य, समर्पण र त्यागले विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले उनीहरूको योगदानको सम्मान गर्नु समग्र शैक्षिक क्षेत्रकै सम्मान भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “शिक्षक पेसा केवल जीविकोपार्जनको माध्यम मात्र होइन, यो समाज र राष्ट्रको भविष्य निर्माण गर्ने दीर्घकालीन जिम्मेवारी हो।”

विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी नैतिकता, अनुशासन, संस्कार, नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वजस्ता गुण विकास गराउनु आजको शिक्षाको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभयो। बदलिँदो समय र प्रविधिसँगै शिक्षकहरूले पनि आफ्नो ज्ञान, सीप तथा शिक्षण विधिलाई परिमार्जन गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।

शिक्षाको गुणस्तर सुधार र विद्यालयका समस्या समाधानमा जोड

शिक्षा क्षेत्रका नीतिगत तथा व्यावहारिक विषय उठाउँदै अध्यक्ष सिटौलाले सरकारी नीति–नियमको पालना गर्दै विद्यालय सञ्चालन गर्नुपर्ने र विद्यालयका वास्तविक समस्यालाई सम्बन्धित निकायले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले कक्षा ५ सम्म आन्तरिक मूल्याङ्कनको प्रभावकारी कार्यान्वयन, बदलिँदो शिक्षण पद्धतिअनुसार शिक्षकको क्षमता विकास तथा निजी विद्यालयका व्यावहारिक समस्या समाधान गर्न सम्बन्धित पक्षबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

आइतबार विद्यालय सञ्चालनसम्बन्धी सरकारी निर्णय र त्यसको कार्यान्वयनका क्रममा विद्यालयहरूले भोग्नुपरेका व्यावहारिक चुनौती उल्लेख गर्दै उहाँले विद्यालय, सरकार र अभिभावकबीच आपसी समझदारी र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो। विद्यालयहरूले सरकारी नियमको पालना गरिरहँदा उनीहरूले भोगिरहेका समस्यालाई पनि सम्बोधन गरिनुपर्ने उहाँको भनाइ थियो।

प्रकाशन संस्था, पुस्तक व्यवसायी र सञ्चारकर्मीलाई सम्मान

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विभिन्न प्रकाशन संस्था तथा पुस्तक व्यवसायीका प्रतिनिधिलाई कदरपत्र प्रदान गरिएको थियो। सम्मानित हुनेमा ग्रीन पब्लिकेसन, निमा पब्लिकेसन, स्वस्तिक पब्लिकेसन, अलाइड पब्लिकेसन, एकता पब्लिकेसन, आशिष् पब्लिकेसन तथा भक्तपुर पुस्तक व्यवसायी संघका उपाध्यक्षसमेत रहनुभएका सत्य शक्ति पुस्तक भण्डारका सञ्चालक महेश थापा रहनुभएको थियो।

त्यसैगरी, शिक्षा तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याएको भन्दै वी क्यान एजुकेसन नेपाल, भक्तपुरले नमस्ते ख्वप टेलिभिजनका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठलाई सम्मान गरेको छ।

श्रेष्ठसँगै शिक्षा तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याएका शिक्षा पत्रकार समूहका महासचिव, अन्नपूर्ण पोस्टका पत्रकार तथा ननस्टपखबर डटकमका सम्पादक सञ्जीव शुभचिन्तक, मैत्री न्युजका संवाददाता दीपेन्द्र श्रेष्ठ, नेपाल टेलिभिजनका संवाददाता अञ्जिल बी.के., आइकन खबर डटकम तथा रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता किरण सुवाल र राधेराधेस्थित चलचित्रसँग सम्बन्धित संस्थाका म्यानेजर केशव कार्कीलाई पनि सम्मान गरिएको थियो।

शिक्षक, विद्यालय, प्रकाशन संस्था, पुस्तक व्यवसायी र सञ्चारमाध्यमबीचको सहकार्यले शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन, नवीन शैक्षिक सामग्रीको पहुँच विस्तार गर्न तथा शिक्षासम्बन्धी सकारात्मक सन्देश समाजमा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोग गर्ने विद्यालय पनि सम्मानित

वी क्यान एजुकेसन नेपालले विभिन्न शैक्षिक, सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापमार्फत संस्थाका गतिविधिमा सहयोग पुर्‍याउने सदस्य विद्यालयहरूलाई पनि सम्मानपत्र प्रदान गरेको थियो।

कार्यक्रममा गायक सरोज के.सी. र सुरज कपालीले सांगीतिक प्रस्तुति दिनुभएको थियो भने निर्मल महतले बिङ्गो खेल सञ्चालन गर्नुभएको थियो।

संस्थाका सल्लाहकार जगदीश पौडेलले स्वागत मन्तव्यका क्रममा सम्मानित शिक्षक–शिक्षिकाको अनुभव र योगदान नयाँ पुस्ताका शिक्षकका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो।

संस्थाका सचिव कमलबहादुर सुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा संयोजक अनिश खत्रीले कार्यक्रमको उद्देश्य, संस्थाका गतिविधि तथा आयोजनाको महत्त्वबारे जानकारी गराउनुभएको थियो।

सहकार्य र एकताबाट समृद्ध राष्ट्र निर्माणको सन्देश

कार्यक्रमको समापन मन्तव्यमा अध्यक्ष सिटौलाले शैक्षिक क्षेत्रको विकास कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै विद्यालय, शिक्षक, अभिभावक, प्रकाशन संस्था, पुस्तक व्यवसायी, सञ्चारकर्मी तथा सम्बन्धित निकायबीच सहकार्य र हातेमालो आवश्यक रहेको बताउनुभयो।


प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?