१४ कार्तिक २०८३ ,शुक्रबार

एनपीएल: साविक विजेता लुम्बिनीको शानदार जीत, सुदूरपश्चिम ८७ रनमै समेटियो


 

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सर्टले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। आसिफले ३२ रन बनाए। निरोशन डिक्वेला ७ रनमा बोल्ड भए भने शमिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।

सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो। टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १७ रनमा अविजित रहे। सैफ जैवले १३ तथा विनोदले ९ रन जोडे। इशान पाण्डेले ७ र ब्रान्डन म्याकमुलेनले २ रन बनाए। शेर्फन रदरफोर्ड १ रनमा आउट भए भने स्कुट कुइगेलेइन र हेमन्त धामीले खाता खोल्न सकेनन्।

लुम्बिनीका बलरमध्ये किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए। कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले समान १ विकेट हात पारे।

खेलमा नेपालमा पहिलोपटक प्रयोग गरिएको डिसिजन रिभ्यू सिस्टम ९डीआरएस० पनि देखियो। दोस्रो ओभरको अन्तिम बलमा शेर मल्लले एलबीडब्ल्युको अपिल गर्दा अम्पायरले आउट दिएनन्। त्यसपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिए पनि लुम्बिनीको अपिल सफल हुन सकेन।

यसैबीच, मंगलबार एनपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन्। दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ।


प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?