१४ कार्तिक २०८३ ,शुक्रबार

फ्रान्समा शैक्षिक सुधारको माग गर्दै आन्दोलन


Photo: Reuters

२१ असोज काठमाडौं शैक्षिक संस्था सुधारको माग गर्दै फ्रान्समा भइरहेको आन्दोलनले व्यापक रुप लिइरहेको छ । लाखौँ मानिसहरु प्रदर्शनमा सामेल भइरहेका छन् । त्यहाँको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार मात्रै फ्रान्सेली सडकहरुमा २ लाख ६६ हजारभन्दा बढी नागरिक विरोधमा उत्रिएका छन् । आयोजकहरुले भने प्रदर्शनमा ४ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन् ।

प्रदर्शकारीहरुलाई तितरवितर पार्न सुरक्षाकर्मीहरुले अश्रु ग्यास र पानीका फोहोरा प्रयोग गरेका छन् । तर आन्दोलन मत्थर हुन सकेको छैन । त्यसको विपरित देशभरीका विद्यार्थी मुख्य शहरहरुमा प्रदर्शनमा उत्रिएका छन् र विद्यालय प्रवेश गर्ने बाटाहरु अवरुद्ध गरिदिएका छन् ।

झण्डै तीन सातादेखि चलिरहेको आन्दोलन सेप्टेम्बर १७ मा पेरिस आसपासका विद्यालयबाट सुरु भएको थियो । अहिले यो देशव्यापी आन्दोलनमा परिणत भएको छ । विद्यार्थीहरुले विद्यालयका भौतिक पूर्वाधार सुधारसँगै शिक्षक अभाव अन्त्य गर्नुपर्ने, कक्षाकोठामा विद्यार्थीको चाप घटाउनुपर्ने तथा जीर्ण विद्यालय भवनहरुको मर्मत गर्नुपर्ने माग राखेका छन् ।

फ्रान्सका केही विद्यालयमा पानी चुहिने, मुसाको समस्या, आवश्यक फर्निचरको अभाव तथा अन्य आधारभूत पूर्वाधार कमजोर रहेको विद्यार्थीहरुको गुनासो छ । विद्यार्थी संगठनका अनुसार देशभर झण्डै २ हजार उच्च माध्यमिक विद्यालय अवरुद्ध वा बन्द भएका छन् ।

आन्दोलनमा विद्यार्थी मात्रै नभई शिक्षक, अभिभावक तथा विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरुसमेत सहभागी भएका छन् । प्रदर्शनका क्रममा केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । फ्रान्सेली सरकारले भने विद्यार्थीका माग सम्बोधन गर्न अनुपस्थित शिक्षकको स्थानमा शिक्षक व्यवस्था गर्ने तथा पुराना विद्यालय भवनको मर्मतलगायतका विषयमा काम अघि बढाउने प्रतिबद्धता जनाएको छ ।


प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?