१४ कार्तिक २०८३ ,शुक्रबार

प्याब्सन क्रिकेट लिग पहिलो संस्करणको विजेतालाई ट्रफी हस्तान्तरण


२२ असोज काठमाडौं । प्याब्सन क्रिकेट लिग (पीसीएल) को पहिलो संस्करणका विजेता टोलीलाई ट्रफी हस्तान्तरण गरिएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौंले आयोजना गरेको पीसीएलको ट्रफी एक कार्यक्रमका बीच विजेतालाई हस्तान्तरण गरिएको हो ।

विद्यालय तहबाटै क्रिकेट प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले सुरु गरिएको पीसीएलको आगामी संस्करणलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी थालिएको प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले बताउनुभयो ।
भट्टले पहिलो संस्करणबाट प्राप्त अनुभवलाई आधार बनाएर आगामी प्रतियोगितालाई थप प्रभावकारी बनाउने गरी तयारी थालिएको पनि स्पष्ट पार्नुभयो ।

पीसीएल केवल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम नभई विद्यालय तहमा रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूलाई प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने अवसर प्रदान गर्ने अभियान भएको अध्यक्ष भट्टको भनाई छ । पहिलो संस्करणमा काठमाडौंसहित विभिन्न प्रदेशका आठ टोली सहभागी थिए।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गरिएको छ।
पीसीएलका टिम म्यानेजर खेम थापाले पहिलो संस्करणमा आफ्नो टोली च्याम्पियन बने पनि त्यसको श्रेय कुनै एक व्यक्ति वा कप्तानलाई मात्र दिन नमिल्ने बताउनुभयो। सम्पूर्ण खेलाडी, व्यवस्थापन टोली र सहयोगीहरूको सामूहिक प्रयासबाट सफलता प्राप्त भएको उहाँको भनाइ छ।

थापाका अनुसार पीसीएलले युवा खेलाडीलाई माथिल्लो स्तरको क्रिकेटमा पुग्ने आधारसमेत तयार गरिरहेको छ। पहिलो संस्करणको फाइनलमा पुगेको लुम्बिनी टोलीका कप्तान समीरजंग थापुरी लुम्बिनी लायन्सको एनपीएल क्याम्पमा पुग्नु पीसीएलका लागि सकारात्मक उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो।

आगामी संस्करणका लागि आठवटै टोलीबाट प्रतिभाशाली खेलाडी छनोट गरी करिब १६ सदस्यीय ‘ड्रिम टिम’ निर्माण गर्ने योजना रहेको थापाले बताउनुभयो। छनोट भएका खेलाडीलाई नियमित प्रशिक्षणसँगै थप प्रतिस्पर्धात्मक खेलको अवसर दिने तथा सम्भावना भए भारतका उत्कृष्ट क्रिकेट एकेडेमीमा समेत प्रशिक्षणका लागि लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

प्याब्सन काठमाडौं जिल्ला सचिव कृष्ण भण्डारीले संचालन गरेको कार्यक्रममा प्याब्सन काठमाडौंका उपाध्यक्ष सूर्यबहादुर भण्डारीसहित जिल्ला पदाधिकारी, सदस्य तथा विभिन्न नगरका प्रमुखहरूको उपस्थिति थियो।


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?