१४ कार्तिक २०८३ ,शुक्रबार

२२ किलो सुन प्रकरणमा नयाँ खुलासा: चीनबाटै आउँथ्यो सुन प्रशोधन र ओसारपसारको निर्देशन


२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट बरामद भएको करिब २२ किलो सुनको अवैध कारोबारमा चीनबाटै निर्देशन आउने गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले नेपालमा रहेका आफ्ना समूहका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको स्थानमा पुर्‍याउने निर्देशन दिने गरेका थिए ।

प्रहरीका अनुसार झेनले वीच्याटमार्फत नेपालमा रहेका समूहका सदस्यलाई सुन कहाँ पुर्‍याउने र कसलाई बुझाउने भन्ने निर्देशन दिने गरेका थिए । पक्राउ परेका चिनियाँ नागरिकहरूले पनि सुनको कारोबार तथा ओसारपसारसम्बन्धी निर्देशन चीनबाटै आउने गरेको बताएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी माथिल्लो भंगालस्थित घरबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद भएको जानकारी दिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबाट परीक्षण तथा प्रमाणीकरण गरिएको उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको कार्यालयले जनाएको छ ।

प्रहरीले बिहीबार चिनियाँ नागरिकहरूले भाडामा लिएको घरमा छापा मारेर उक्त सुन बरामद गरेको थियो । अनुसन्धानका क्रममा सो घरमा ल्याइने लेसिलो तथा अर्धप्रशोधित अवस्थाको सुनलाई प्रशोधन गरी तयार पार्ने र त्यसपछि तोकिएको स्थानमा पुर्‍याउने गरिएको खुलेको प्रहरीले जनाएको छ ।

उक्त घर चिनियाँ नागरिक सु क्यानले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ । उनले घर भाडामा लिँदा चार महिनाको अग्रिम भाडाबापत १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेका थिए ।

प्रहरीले सुनको अवैध कारोबारमा संलग्न व्यक्तिहरू, कारोबारको सञ्जाल र सुन ओसारपसारमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?