काठमाडौं । साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। घटनामा भारतीय र पाकिस्तानी नागरिक एक–एक जना घाइते भएका छन्।
साउदी अरबको पूर्वी प्रान्तस्थित साउदी अराम्कोको शैबह तेल खानी क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई लक्षित गरी बुधबार (अक्टोबर २१) आएको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पार्ने क्रममा खसेको भग्नावशेषले लागेर एक नेपालीको मृत्यु भएको साउदी उर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपाली र फिलिपिन्सका एक–एक नागरिक छन्। मृतक तथा घाइतेको नाम र थप व्यक्तिगत विवरण भने सार्वजनिक गरिएको छैन। ड्रोन निष्क्रिय पारिएपछि खसेको भग्नावशेषले तेल प्रशोधन केन्द्रको बाहिरी क्षेत्रमा रहेको ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो। घटनापछि सम्बन्धित सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेका थिए।
साउदी ऊर्जा मन्त्रालयले उक्त घटनाका बाबजुद शैबह तेल खानीको सञ्चालनमा कुनै असर नपरेको स्पष्ट पारेको छ। आक्रमणका लागि आएको ड्रोन कसले प्रक्षेपण गरेको थियो भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन।
प्रकाशित मिति: ६ कार्तिक २०८३, बिहीबार









