२० असोज काठमाडौं । नरेश भट्ट र ममता काफ्ले भट्टलाई हामीले शायदै बिर्सिसकेका छैनौँ होला ।
दुई वर्ष अघिको घटना हो यो जब नेपाली मूलकी २८ वर्षीया नर्स तथा एक वर्षीया छोरीकी आमा ममता काफ्ले भट्ट एकाएक गायब भइन् । आफ्नो काम प्रति इमान्दार र मिलनसार सहकर्मी विना कुनै जानकारी काममा आउन छोडेपछि उनको खोजी सुरु भएको थियो र अन्ततः श्रीमान् नरेशले वाध्य भएर उनी हराएको भनी प्रहरीमा उजुरु दिएका थिए । लामो समय ममताको खोजी चलिरहेको थियो ।
दुई वर्षभन्दा बढी समयपछि उनका श्रीमान् नरेश भट्टविरुद्धको हत्या मुद्दाको सुनुवाइ सुरु भएको छ।
अमेरिकाको भर्जिनिया राज्यमा सोमबारदेखि सुरु भएको सुनुवाइमा ३९ वर्षीय नरेश भट्टले आफू निर्दोष रहेको दाबी गरिरहेका छन् । उनीविरुद्ध प्रथम श्रेणीको हत्या, शव लुकाएको तथा मृत शरीरको भौतिक अपमान गरेको आरोप लगाइएको छ।
ममताको शव भने अहिलेसम्म फेला परेको छैन। त्यसैले यो मुद्दा अमेरिकामा शव नभेटिएको हत्या मुद्दाका रूपमा अघि बढिरहेको छ।
शव नभए पनि अभियोजन पक्षसँग के प्रमाण छन् ?
ममता सन् २०२४ को जुलाई अन्तिमतिर सम्पर्कविहीन भएकी थिइन्। जुलाई २९ मा आमासँग भएको भिडियो कल उनका अन्तिम सम्पर्कमध्ये एक भएको बताइएको छ। त्यसपछि उनी काममा समेत उपस्थित नभएपछि उनको खोजी सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा ममता र नरेश बस्दै आएको घरको शयनकक्ष तथा बाथरुममा रगतका प्रमाण भेटिएको अभियोजन पक्षले जनाएको छ।
अनुसन्धानकर्ताहरूले घरबाट बरामद गरेको पावर कबध मा भेटिएको रगतको DNA ममताको DNA सँग मेल खाएको फरेन्सिक परीक्षणबाट खुलेको छ। साथै धारिलो हतियारमा मानव कपाल तथा कपालका टुक्रा भेटिएको पनि अनुसन्धानसम्बन्धी विवरणमा उल्लेख छ।
अभियोजन पक्षले ममता बेपत्ता भएपछि नरेशले विभिन्न स्थानबाट भारी फोहोरका झोला तथा अन्य सामग्री खरिद गरेको र त्यसपछि ती झोला विभिन्न स्थानमा फालेको CCTV फुटेजलाई समेत प्रमाणका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।
घटनाको अनुसन्धानमा संलग्नहरुले नरेशले चक्कु, पञ्जा तथा फोहोर संगाल्ने ठूला ठूला झोला खरिद गरेको विवरण पनि समावेश गरेका छन् । तर यी प्रमाणहरूले के प्रमाणित गर्छन्, तिनको घटनासँगको सम्बन्ध कति बलियो छ र प्रमाणको वैधानिकता तथा विश्वसनीयता कस्तो छ भन्ने विषयमा बचाउ पक्षले प्रश्न उठाउने अधिकार राख्छ। नरेशले सुरुदेखि नै आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।
घरेलु हिंसासम्बन्धी आरोप पनि बहसको विषय
मुद्दाको सुनुवाइमा ममताले वैवाहिक सम्बन्धका क्रममा शारीरिक, भावनात्मक तथा आर्थिक दुव्र्यवहार भोगेको भन्दै परिवार तथा नजिकका व्यक्तिहरूसँग गरेको कुराकानीसम्बन्धी विवरण पनि उठ्ने भएको छ।
अदालतले यस्ता आरोप र कथनलाई ज्युरीसमक्ष कुन हदसम्म प्रस्तुत गर्न मिल्ने भन्ने विषयमा सुनुवाइअघि नै निर्णय गरेको छ।
सोमबारदेखि सुरु भएको ज्युरी छनोट प्रक्रियाका लागि करिब ३०० सम्भावित ज्युरी सदस्यलाई अदालतमा बोलाइएको थियो। प्रारम्भिक छनोटका क्रममा विभिन्न कारणले केही सम्भावित ज्युरी सदस्यलाई हटाइएको छ।
मुद्दाको सुनुवाइ करिब ६ देखि ७ सातासम्म चल्न सक्ने अनुमान गरिएको छ।
अदालतले सञ्चारमाध्यमलाई सुनुवाइको सीमित भिडियो रेकर्डिङ गर्न अनुमति दिएको छ।
ममता काफ्ले भट्टको शव अहिलेसम्म नभेटिएको अवस्थामा अभियोजन पक्षले फरेन्सिक प्रमाण, DNA, CCTV फुटेज, डिजिटल विवरण तथा अन्य परिस्थितिजन्य प्रमाणका आधारमा ममताको मृत्यु भएको र त्यसमा नरेशको भूमिका रहेको कुरा ज्युरीसमक्ष प्रमाणित गर्नुपर्नेछ।
अमेरिकी कानुनअनुसार आपराधिक मुद्दामा अभियोजन पक्षले आरोपलाई चभबकयलबदभि मयगदत भन्दा माथिको स्तरमा प्रमाणित गर्नुपर्ने हुन्छ।
अन्ततः अदालतमा प्रस्तुत हुने सम्पूर्ण प्रमाण, साक्षीको बयान र दुवै पक्षको बहस सुनेपछि ज्युरीले नरेश भट्ट दोषी वा निर्दोष भएको निर्णय गर्नेछ।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार









