काठमाडौं धनुषामा श्रीमान् श्रीमती मृत फेला परेका छन् ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादव र उनकी ३० वर्षीया श्रीमती रिना देवी यादव मृत फेला परेका हुन्। श्रीमतीको हत्या गरी फरार भएका उमेश पनि झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उमेशले शनिबार राति करिब २ बजे मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुरालीमा सुतिरहेकी श्रीमती रिना र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए। घाँटीमा धारिलो हतियारले काटिएपछि रिनाको मृत्यु भएको थियो भने छोरा सम्राटको दाहिने तिघ्रामा चोट लागेको छ। घाइते बालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ। घटनापछि फरार रहेका उमेशको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार रिना केही समयदेखि माइतीमा बस्दै आएकी थिइन्। केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका उमेश शनिबार ससुराली पुगेका थिए।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ९ कार्तिक २०८३, आईतवार









