१४ कार्तिक २०८३ ,शुक्रबार

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित, विश्वप्रकाश शर्माले भने– ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन’


२४ असोज काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानपछि काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा गरिएको मतगणनामा थापा सभापतिमा निर्वाचित भएका हुन्।

महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् भने ५४ मत बदर भएको छ।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए। सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदाधिकारीको मतगणना भने बाँकी रहेको छ। सभापति पदबाहेक अन्य पदका मतपेटिका मतगणनाका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ।

थापा सभापतिमा निर्वाचित भएपछि पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले उनलाई शुभकामना दिँदै पार्टीभित्र एकता कायम गरेर अघि बढ्नुपर्ने बताएका छन्। शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै सभापतिमा निर्वाचित हुनु यात्राको सुरुवात मात्र भएको र लक्ष्य प्राप्तिका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन्।

शर्माले लेखेका छन्, ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन ! हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्‍याउनु छ देशलाई।’

पार्टीभित्रका फरक विचार र भावनालाई जोड्दै चुनौतीको सामना संयमपूर्वक गर्नुपर्नेमा जोड दिँदै शर्माले लेखेका छन्, ‘अफ्ठ्यारा आउँछन्, सामना गर्नुछ संयमले । जोड्नु छ भिन्न मत र मनहरू।’

उनले इतिहासप्रति इमानदार रहँदै विगतका गौरवलाई पछ्याउन, कमजोरी सच्याउन र देशको समुन्नतिका लागि काम गर्नुपर्ने बताएका छन्। शर्माले देशलाई समुन्नतिको बाटोमा अघि बढाउन सकिने विश्वाससमेत व्यक्त गरेका छन्।

थापालाई अपार विश्वास र दृढ साथ रहेको उल्लेख गर्दै शर्माले नयाँ नेतृत्वलाई बलियो कमान्डका लागि शुभकामना दिएका छन्। उनले लेखेका छन्, ‘लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना !’

सभापतिमा थापाको निर्वाचितसँगै नेपाली कांग्रेसको नयाँ नेतृत्वले पार्टीभित्रका विभिन्न विचारलाई समेट्दै संगठनलाई एकताबद्ध बनाउने र देशको समुन्नतिका लागि अघि बढ्ने चुनौती पाएको छ।


प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?