१४ कार्तिक २०८३ ,शुक्रबार

भोटेकोशी बाढीपीडितलाई परमेश्वरको मण्डलीद्वारा खाद्यान्न सहयोग


२२ असोज नुवाकोट । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ।

मण्डलीले बिहीवार नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत १५ हजार २५० किलो चामल, ६ हजार १२५ किलो दाल र २ हजार लिटर खाने तेल हस्तान्तरण गरेको हो।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत होमनाथ दाहालले राहत वितरणका लागि पुगेको टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो।

यस्तै, पूर्वाधार विकास कार्यालय नुवाकोटका इन्जिनियर रविन खाती र विदुर नगरपालिका–४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले बाढीपीडितका लागि खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराएकोमा मण्डलीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्नुभयो। उहाँहरूले नगरपालिका र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

मण्डलीका अनुसार बाढीबाट प्रभावित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने र खाद्य आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको हो।

गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीका कारण घर, सडक, पुल तथा अन्य आधारभूत संरचनामा क्षति पुगेको थियो। सरकारको प्रारम्भिक सर्वेक्षणअनुसार करिब ७ हजार ५७० घरमा क्षति पुगेको र ३२ हजार ९०० जना प्रभावित भएका थिए।

मण्डलीका अनुसार उक्त राहत सहयोग जलवायु उत्थानशीलताका लागि सञ्चालन भइरहेको ‘बिल्ड होप’ अभियानअन्तर्गत गरिएको हो।

अभियानले बाढी, भारी वर्षा, अत्यधिक गर्मीलगायत जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग गर्नुका साथै विपद्को जोखिम न्यूनीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने लक्ष्य राखेको छ। मण्डलीका प्रतिनिधिले विपद्का कारण कठिनाइमा परेका परिवारलाई राहत सहयोगले दैनिक जीवन पुनःस्थापना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि प्रभावित समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले नेपालमा आपत्कालीन राहत, रक्तदान, वातावरण सरसफाइ तथा पुनःस्थापनालगायत सामाजिक सेवाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

सन् २०१५ को विनाशकारी भूकम्पका समयमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्नुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा समेत सहयोग गरेको मण्डलीको भनाइ छ।

मण्डलीका अनुसार नेपालमा हालसम्म ७२ हजार ६८८ जनाले १ हजार ८४ वटा सामाजिक सेवाका गतिविधिमा सहभागिता जनाएका छन्।

भिन्न सरकारी तथा गैरसरकारी निकायबाट सामाजिक तथा मानवीय सेवाका लागि प्रशंसा र कदरपत्र प्राप्त गरेको मण्डलीले जनाएको छ। साथै, स्थानीय समुदायमा रगतको अभाव कम गर्न नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको मण्डलीले ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ अन्तर्गत नेपालमा हालसम्म ५४ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।

सन् १९६४ मा दक्षिण कोरियामा स्थापना भएको परमेश्वरको मण्डलीका अनुसार विश्वका १७५ राष्ट्रका ७ हजार ८०० भन्दा बढी क्षेत्रमा करिब ४० लाख विश्वासी रहेका छन्। मण्डलीले सामाजिक सेवा, वातावरण संरक्षण, रक्तदान तथा विपद् राहतका क्षेत्रमा विश्वव्यापी रूपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।


प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?