१४ कार्तिक २०८३ ,शुक्रबार

बागमती प्रदेशले पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिने


२४ असोज भक्तपुर । बागमती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको जनाएको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरले प्रदेश सरकारले पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन लागेको जानकारी दिनुभयो । क्रियाशील पत्रकार मञ्चको १६ औँ साधारण सभा तथा छैठौँ केन्द्रीय अधिवेशन  बोल्दै मुख्यमन्त्री थापाले स्थानीय तहले सिफारिस गरेका स्थानमा ती संरचना निर्माण गर्ने तयारी रहेको बताउनुभयो ।

उहाँले खोलाको बगरमा हरित क्षेत्र निर्माण गरी जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने योजना पनि अघि बढिरहेको जानकारी दिनुभयो।

भाद्र १० गते रसुवा भोटेकोशी बाढी लगत्तै स्थानीय वडा र पालिकासंग समन्वय गरी तत्काल एक सय जनाको मेडिकल टोली नुवाकोटको विदुर पठाएको र चारवटा आश्रयस्थल तयार पार्ने काम गरेको उल्लेख गर्दै विपदमा प्रदेश सरकार स्थानीय तहसँगै रहेको बताउनुभयो ।

मुख्यमन्त्री थापा मगरले देशको विकास र समृद्धिमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति उजागर गर्ने र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। पत्रकारहरू गुगलमा उपलब्ध सूचनामा मात्र सीमित नभई भूगोलमै पुगेर वास्तविकता बुझ्नुपर्ने उहाँको भनाइ थियो।

पत्रकारिताका मान्यता नबुझी यस क्षेत्रमा लाग्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिका कमजोरी औँल्याउँदा उनीहरूलाई सुधारका लागि खबरदारी गर्नुपर्ने, व्यक्तिगत रूपमा नङ्ग्याउने प्रवृत्ति उचित नभएको बताउनुभयो।

मुख्यमन्त्री थापा मगरले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको जानकारी दिनुभयो । प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै उहाँले संघीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्य चिर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले तीनै तहका सरकारबीच समन्वय र सहकार्य भए भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो।


प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?