१५ कार्तिक २०८३ ,शनिबार

रसुवा भोटेकोशी बाढीः १०२ बालबालिका परिवार विहिन, १६९ ज्येष्ठ नागरिक होल्डिङ सेन्टरमा


२२ असोज भक्तपुर। रसुवाको भोटेकोशी बाढीका कारण १०२ जना बालबालिकाले आफ्नो आमा बुबा गुमाएका छन् ।

बाढीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदनमा हाल २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेको उल्लेख छ ।

मुख्यमन्त्री किरण थापामगरलाई विहिबार बुझाइएको प्रतिवेदन अनुसार बाढीका कारण हालसम्म एक हजार ४५५ जनाको ज्यान गइसकेको उल्लेख छ । यस्तै, हालसम्म ५ हजार २८५ जना अझै बेपत्ता छन् ।

प्रदेश सरकारको आन्तरिक मामिला, कानु तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले प्रतिवेदन मुख्यमन्त्री थापामगरलाई बुझाएका हुन् । प्रतिवेदनमा उल्लेख भए अनुसार घाइते भएकामध्ये ३४४ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

बाढीबाट २ हजार ३०० वटा निजी आवासमा पूर्ण रूपमा क्षति पुगेको र २६९ वटा घरमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । जसमा दुई हजार ३०० भन्दा बढी परिवार पूर्ण रूपमा विस्थापित बनेका छन् ।

विस्थापितमध्ये एक हजार ८५ जना नागरिकलाई हाल अस्थायी शिविरहरूमा राखिएको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक सम्पत्ति क्षति
प्रदेश सरकारले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा ३४ वटा मोटरेबल पुल र ५१ वटा झोलुङ्गे पुलमा बाढीले पूर्णरूपमा क्षति पु¥याएको छ ।
त्यस्तै १४ वटा सरकारी भवन, सडक, पुल गरी ५ अर्ब ६९ करोड ७ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, १२ वटा विद्यालयका ३५ भवन र ३१७ कक्षाकोठा पूर्ण रूपमा भत्किँदा ९ हजार २४८ विद्यार्थीको पठनपाठन ठप्प भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, १८ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

जसमा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार ६ सरकारी र ७ निजी स्वास्थ्य संस्था तथा औषधि पसल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

खानेपानी तथा सिँचाइतर्फ ५५ वटा खानेपानी आयोजना र ४४ वटा सिँचाइ कुलोमा क्षति पुगेको छ। यसका कारण हजारौँ घरधुरी खानेपानी तथा सिँचाइ सुविधाबाट वञ्चित भएका छन्। यी आयोजनामा मात्रै ५२ करोड ६९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, १९८ वटा सञ्चार टावरमा क्षति पुगेकोमा १९३ वटा टावर पुनः सञ्चालनमा ल्याइएको छ।

बाढी तथा विपद्का कारण १७ वटा बैंक शाखा र ९ वटा एटीएममा समेत क्षति पुगेको छ। यसबाट २ हजार १२५ वटा कर्जा खाता जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ।

उद्योग, व्यापार र कृषि क्षेत्र धराशायी
यस्तै, बाढीले कृषि तथा पशुधनतर्फ २८ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा अनुमान गरिएको छ । त्यस्तै उद्योग व्यवसाय तर्फ दुई अर्ब ९७ करोडभन्दा बढीको क्षति हुँदा एक हजार ७०० भन्दा बढी श्रमिकको रोजगारी गुमेको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?