२८ असोज भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा साढे चार तले नयाँ वडा प्रशासनिक भवन बन्ने भएको छ । बुधबार एक कार्यक्रमबिच नगर प्रमुख बासुदेव थापाले नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको हो ।
वडा प्रशासनिक भवन निर्माणका लागि करिब दुई करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढाइएको हो। नयाँ बन्ने भवन अपाङ्गमैत्री तथा बालमैत्री हुने बताइएको छ । नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर जनक न्यौपानेले निर्माण सम्पन्न गर्ने अवधि आर्थिक वर्ष २०८४ सम्म रहे पनि आगामी छ महिनाभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
लामो समयदेखि उपयुक्त जग्गाको अभावका कारण वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण हुन नसकेको अवस्थामा स्थानीय जग्गादाता परिवारबाट पाँच आना जग्गा प्राप्त भएपछि भवन निर्माणको प्रक्रिया अघि बढेको हो।
वडा प्रशासनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने स्वर्गीय नरबहादुर राउतकी बुहारी तथा स्वर्गीय चित्रबहादुर राउतकी श्रीमती गोमा राउत र र उहाँका छोराहरू नवराज राउत, रामकृष्ण राउत, श्यामकृष्ण राउत र दीपक राउतलाई सार्वजनिक सेवाका लागि पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
शिलान्यास कार्यक्रममा नगरप्रमुख थापाले नयाँ प्रशासनिक भवन निर्माण भएपछि नागरिकलाई सहज, व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँले निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै नगरपालिकाका तर्फबाट आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो। भवन सार्वजनिक सम्पत्ति भएकाले यसको गुणस्तर कायम राख्न स्थानीयवासीले पनि निगरानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आफ्नै प्रशासनिक भवन निर्माण भएपछि वडाबाट प्रदान गरिने सेवा थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थले वडामा सार्वजनिक जग्गाको अभावका कारण आफ्नै प्रशासनिक भवन निर्माण गर्न लामो समयदेखि कठिनाइ हुँदै आएको बताउनुभयो।
जग्गादाता परिवारले पाँच आना जग्गा उपलब्ध गराएपछि भवन निर्माणको बाटो खुलेको उल्लेख गर्दै उहाँले स्थानीयस्तरमा पूर्वाधार विकासका काम अघि बढिरहेको जानकारी दिनुभयो।
सूर्यविनायक नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीले नयाँ भवन निर्माणले स्थानीय नागरिकलाई सेवा लिन सहज हुने बताउनुभयो। उहाँले सार्वजनिक पूर्वाधार निर्माणमा स्थानीय समुदायको सहयोग र सहकार्य महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
नगरपालिकाका १० वडामध्ये ९ वटा वडा कार्यालयका आफ्नै भवन निर्माण सम्पन्न भइसकेका छन्। सिरुटारमा नयाँ भवन निर्माण सम्पन्न भएपछि नगरपालिकाका सबै १० वटै वडा कार्यालय आफ्नै प्रशासनिक भवनबाट सञ्चालन हुनेछन्।
नगरपालिकाले वडा कार्यालयका भवनसँगै नगर अस्पताल तथा स्वास्थ्य चौकीहरूबाट समेत आफ्नै भवनमार्फत सेवा प्रवाह गर्दै आएको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार









