काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माले आफ्नो नियुक्तिलाई लिएर भइरहेको विरोधबारे पहिलोपटक सार्वजनिक रूपमा धारणा राखेकी छन्। उनले भिडियो सन्देश जारी गर्दै आफूविरुद्ध उठेका प्रश्न र आरोपबारे स्पष्टीकरण दिएकी हुन्।
आनीले कसैबाट परिचालित भएर गैरजिम्मेवारपूर्ण ढंगले विरोध र लाञ्छना नलगाउन आग्रह गरेकी छन्। आफूविरुद्ध प्रश्न उठ्दा समर्थकहरू प्रतिरक्षामा उत्रिने क्रममा जातीय तथा धार्मिक द्वन्द्व निम्तिन सक्ने भन्दै उनले सचेतसमेत गराएकी छन्।
उनले आफू यही देशमा जन्मिएको र यही देशमा बस्ने व्यक्ति भएको बताउँदै देशप्रति इमानदार भएर काम गरेको दाबी गरेकी छन्। यसबारे स्पष्टीकरण दिन आवश्यक नभए पनि आफूविरुद्ध प्रश्न उठेकाले भिडियो सन्देश जारी गर्नुपरेको उनको भनाइ छ।
आफूमाथि विभिन्न आरोप लगाइँदा दुःखी र चिन्तित भए पनि विचलित नभएको उनले बताइन्। आफ्नो नियुक्तिलाई लिएर विगतमा पनि विरोध भएको र अहिले पनि असन्तुष्टिका स्वर सुनिएको उल्लेख गर्दै उनले आलोचनाको कारणबारे बुझ्ने प्रयास गरेको बताएकी छन्। विगतमा पनि यस्ता विरोधलाई आफूले सुल्झाएको उनको भनाइ छ।
‘यो विषयवस्तुले कता लैजाँदै छ भने मैले सोचेँ,’ उनले भनिन्, ‘भू–राजनीति अहिले देशमा सक्रियताका साथ अनुभव गर्न पाइएको छ । अनावश्यक र आधारहीन विषयवस्तुका रूपमा नागरिकता र सम्पत्ति शुद्धीकरणको विषय उठाएर बदनाम गर्ने कोसिस भइरहेको छ ।’
उनले आफू निर्दोष रहेको र आफूमाथि कुनै खोट नभएको दाबीसमेत गरेकी छन्। अहिले सबैजना सजग हुनुपर्ने बेला आएको उनको भनाइ छ।
आफूलाई समर्थन र माया गर्नेहरूले अन्य सम्प्रदायलाई चोट पुग्ने शब्द तथा भाषा प्रयोग गरेको भन्दै उनले त्यस्तो नगर्न आग्रह गरेकी छन्। आफ्नो कारणले समाजमा घृणा र द्वन्द्व फैलिने अवस्था आउन नहुनेमा उनले जोड दिएकी छन्।
आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर लुम्बिनी बचाउ अभियानले विरोध गर्दै आएको छ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार









