काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको ‘अनर्ब’ नामक चक्रवातको प्रभाव नेपालमा समेत पर्ने पूर्वानुमानसहित जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रका १२ जिल्लामा रेड अलर्ट जारी गरेको छ। महाशाखाका अनुसार आगामी कात्तिक १२ गते बिहीबारदेखि मौसममा प्रभाव देखिन थाल्ने र शुक्रबार तथा शनिबार वर्षा, हिमपात, हावाहुरी तथा चट्याङको जोखिम बढ्ने सम्भावना छ।
महाशाखाका अनुसार बंगालको खाडीमा रहेको चक्रवात थप शक्तिशाली बन्दै जाने र अति शक्तिशाली चक्रवातमा विकसित हुने सम्भावना छ। उक्त प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक ११ गते (२८ अक्टोबर २०२६) भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानमनजिक तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्ने पूर्वानुमान गरिएको छ।
चक्रवातको प्रभावले नेपालका विभिन्न प्रदेशमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका क्षेत्र बढी प्रभावित हुन सक्ने अनुमान छ।
कात्तिक १३ र १४ गते कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा र धादिङका हिमाली भूभागका साथै रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा रेड अलर्ट जारी गरेको जनाएको छ।
सम्भावित वर्षा र हिमपातलाई मध्यनजर गर्दै महाशाखाले धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न सुझाव दिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्यटकलाई जोखिमको अवधिमा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
चक्रवातको प्रभावले चिसो बढ्नुका साथै पहिरो, सडक तथा हवाई यातायातमा अवरोध र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार









