१५ कार्तिक २०८३ ,शनिबार

सर्बियामा बुचिचको १४ वर्षे शासन अन्त्य, विद्यार्थी आन्दोलनलाई बहुमत


 

काठमाडौं सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्वराष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन अन्त्य भएको छ। आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिचको सत्तारूढ गठबन्धन पराजित भएको हो।

प्रारम्भिक मतपरिणामअनुसार २५० सिट रहेको संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा बढी सिट जितेको छ भने बुचिचको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) नेतृत्वको गठबन्धन १०५ सिटमा सीमित भएको छ। निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको थियो।

नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेड र नोभी सादलगायत सहरमा हजारौँ नागरिकले विजय उत्सव मनाएका छन्। उनीहरूले ‘आलेक्जान्दर ढल्यो’ र ‘उनी सकिए’ जस्ता नारा लगाएका छन्।

नोभेम्बर २०२४ मा नोभी सादस्थित रेल्वे स्टेसनको कङ्क्रिट छाना भत्किँदा १६ जनाको मृत्यु भएपछि सर्बियामा भ्रष्टाचार र सरकारी जवाफदेहिताको माग गर्दै विद्यार्थी आन्दोलन सुरु भएको थियो। उक्त आन्दोलन पछि व्यापक राजनीतिक अभियानमा परिणत हुँदै निर्वाचनमा सहभागी भएको थियो।

‘स्टुडेन्ट लिस्ट’ले मुटुरोग विशेषज्ञ डा. इलिया स्रदानोभिचको नेतृत्वमा प्राध्यापक, कलाकार, खेलाडी र कृषकसहित विभिन्न क्षेत्रका व्यक्तिलाई उम्मेदवार बनाएको थियो।

विजयपछि स्रदानोभिचले कानुनी राज्य र लोकतन्त्रको पुनःस्थापनाका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले जनताको आवाज सुनिएको बताउँदै दृढ इच्छाशक्ति भए राजनीतिक परिवर्तन सम्भव हुने उल्लेख गरे।


प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?