१४ कार्तिक २०८३ ,शुक्रबार

नेपालमै पहिलोपटक लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै, छठसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य


ललितपुर । पैदलयात्रीलाई सडक पार गर्न सहज र सुरक्षित बनाउने उद्देश्यले ललितपुरको कुसुन्तीमा लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण भइरहेको छ। निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल छठ पर्वसम्ममा तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको पहलमा अघि बढाइएको यस परियोजनाले विशेषगरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका तथा हिँडडुल गर्न कठिनाइ हुने पैदलयात्रीलाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीका अनुसार कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्। यस क्षेत्रमा बढ्दो सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्नुका साथै पैदलयात्रीको सुरक्षालाई प्राथमिकता दिँदै आकाशे पुल निर्माणको योजना अघि बढाइएको हो।

निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि निर्धारित समयभन्दा करिब आठ महिना ढिलाइ भएको वडाध्यक्ष केसीले बताएका छन्। उनका अनुसार पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। पुलको अनुमानित लागत ४ करोड ६८ लाख ९ हजार ५६१ रुपैयाँ हो।

लिफ्टको व्यवस्था गरिएकाले सिँढी चढ्न कठिनाइ हुने व्यक्तिहरूलाई समेत पुल प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले सडक पार गर्न जोखिमपूर्ण अवस्था सामना गर्नुपर्ने पैदलयात्रीलाई सुरक्षित विकल्प उपलब्ध गराउनुका साथै व्यस्त सडकमा सवारीसाधन र पैदलयात्रीबीचको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

लिफ्टसहितको यो आकाशे पुल नेपालमै पहिलोपटक परीक्षणका रूपमा निर्माण गर्न लागिएको दाबी गरिएको छ। आयोजना सफलतापूर्वक सञ्चालनमा आएमा अपांगतामैत्री तथा ज्येष्ठ नागरिकमैत्री सार्वजनिक पूर्वाधार निर्माणका लागि अन्य स्थानमा पनि यस्ता संरचना विस्तार गर्ने सम्भावना बढ्नेछ।

कुसुन्तीमा निर्माणाधीन यो पुल सञ्चालनमा आएपछि स्थानीयवासी तथा त्यस क्षेत्र हुँदै आवतजावत गर्ने पैदलयात्रीले सुरक्षित रूपमा सडक पार गर्न पाउने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: ९ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?