१५ कार्तिक २०८३ ,शनिबार

बिर्तामोडको बडी ग्यारेजमा आगलागी, एक जनाको जलेर मृत्यु


काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
आगलागीमा परी ग्यारेजको क्यान्टिनमा काम गर्ने झापा, गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको छ।

बिहीबार बिहान करिब ४ बजे ध्रुव भट्टराईको जग्गामा बिर्तामोड नगरपालिका ४ बस्ने रबि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेज (ठूला सवारीसाधन मर्मत केन्द्र) को क्यान्टिनमा आगलागी भएको हो।

आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगलागी पूर्ण रूपमा निभाइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन वटा खसीबाख्रा तथा नगद रु.एक लाख जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब रु.३ लाख बराबरको क्षति भएको छ।

यसैगरी, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको थियो।
आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।


प्रकाशित मिति: ६ कार्तिक २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?