१४ कार्तिक २०८३ ,शुक्रबार

सामाजिक सञ्जालमा फैलिएको घृणाविरुद्ध दयालु व्यवहारको अभियानः “The Kindness Mob”


The Kindness mob

 

काठमाडौं सामाजिक संजालको प्रयोग अहिले सामान्य बनिसकेको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक संजालबाट आफ्नो व्यवसाय अघि बढाएर नाम र दाम कमाएका अनगिन्ती उदाहरणहरु छन् ।

यसको प्रयोगमा मानिसहरु यति धेरै आशक्त भएका छन् की उनिहरु हरेक क्षण मोबाइलमै घोप्टिरहेको भेट्न सकिन्छ । तर यहि सामाजिक संजालले कति मानिसलाई मानसिक तनाव समेत दिने गरेको छ । कतिले सामाजिक संजालमा आएका नकारात्मक टिप्पणीहरुलाई ग्रहण गर्न नसक्दा डिप्रेसनको सिकार समेत बन्ने पुगेका थुप्रै उदाहरण छन् ।

त्यसैले पनि सामाजिक सञ्जाललाई प्रायः मानवीय क्रूरताको ऐनाका रूपमा हेरिन्छ। तर, एक व्यक्तिले यही प्रवृत्ति बदल्न टिकटकमा ५ लाख मानिसको समूह तयार पारेका छन्। उनीहरूको हतियार हो—दयालु व्यवहार।

अमेरिकाको न्युयोर्कस्थित स्टेटन आइल्यान्डकी लौरा टिगेलेइरो हरेक दिन टिकटक खोल्दा घृणा र अपमानजनक टिप्पणीहरूको सामना गर्थिन्। उनी भन्छिन्, “सबैले मेरो आँखाको मजाक उडाइरहेका हुन्थे।”

लौरा मल्टिपल स्क्लेरोसिस नामक एक स्वप्रतिरक्षात्मक रोगबाट पीडित छिन्। यस रोगका कारण उनका नीलो आँखामध्ये एउटा आँखा एकातिर झुकेको छ।

“म त केवल स्वस्थकर परिकार बनाउने विधि शेयर गर्न र केही साथी बनाउन चाहन्थेँ,” उनी भन्छिन्, “तर मानिसहरूले निकै नराम्रा कुरा लेख्थे। त्यसले मलाई साँच्चै दुःखी बनाउँथ्यो।”

तर, गत मार्चमा एकाएक उनको मोबाइलमा लगातार नोटिफिकेसन आउन थाले र ति नोटिफिकेसनले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । सँधै नकारात्मक टिप्पणी सामना गर्ने उनले पोस्ट गरेको एउटा भिडियो भाइरल भएको थियो। त्यसमा १५ हजारभन्दा बढी सकारात्मक र मायालु टिप्पणीहरू आएका थिए।

“के भइरहेको छ भन्ने नै मैले बुझ्न सकिनँ। म अचम्ममा परेँ,” लौरा भन्छिन्।

केही दिनपछि उनले यसको कारण थाहा पाइन्। एनको पोष्टमा काइन्डनेस मोबले “आक्रमण” गरेको रहेछ ।
‘काइन्डनेस मोब’ टिकटकमा सञ्चालन गरिएको एउटा अभियान हो। यसलाई अमेरिकाको कन्सास सिटीका डिजिटल मार्केटिङकर्मी टायलर ब्रिक्लीले सन् २०२३ मा सुरु गरेका हुन्।
“यो एक प्रकारको ट्रोलिङ नै हो,” उनी भन्छन्।
ब्रिक्लीले हरेक दिन आफ्ना पाँच लाख फलोअर्सलाई अनलाइनमा दुव्र्यवहार वा उपेक्षाको सामना गरिरहेका कुनै एक व्यक्तितर्फ ध्यान दिन आह्वान गर्छन्। त्यसपछि उनका फलोअर्सले ती व्यक्तिको भिडियोमा सकारात्मक र हौसला दिने टिप्पणीहरूको वर्षा गर्छन्।

“हामी अनलाइन दुव्र्यवहारका लागि प्रयोग हुने संयन्त्रलाई नै अर्कै उद्देश्यका लागि प्रयोग गरिरहेका छौँ। मानिसहरूलाई संगठित गर्ने र गुमनाम रहेर टिप्पणी गर्ने प्रवृत्तिलाई हामी दयालु व्यवहार फैलाउन प्रयोग गर्छौँ,” उनी भन्छन्।
“र, भन्नैपर्छ—यसले काम गर्छ।”
यो अभियानमा मानिसहरूले एकअर्काप्रति राम्रो व्यवहार गर्नु मात्रै रोचक पक्ष होइन। यस्तो समूहले ध्यान दिन थालेपछि धेरैजसो अवस्थामा दुव्र्यवहार रोकिन्छ, कहिलेकाहीँ सधैँका लागि।

यो घटनालाई विज्ञहरूले ‘सामाजिक संक्रमण सिद्धान्त’ (क्यअष्ब िऋयलतबनष्यल त्जभयचथ) सँग जोडेर हेर्छन्। यस सिद्धान्तअनुसार सकारात्मक वा नकारात्मक व्यवहार भाइरस जस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ।

यस क्षेत्रका अग्रणी अनुसन्धानकर्ताहरूका अनुसार ब्रिक्लीको अभियानले इन्टरनेटको एउटा प्लेटफर्म मात्र नभई समग्र सामाजिक संस्कृतिमा समेत परिवर्तन ल्याउन सक्ने सम्भावना देखाएको छ।

अमेरिकाको येल विश्वविद्यालयमा सामाजिक तथा प्राकृतिक विज्ञानका प्राध्यापक निकोलस क्रिस्टाकिस भन्छन्, “यस प्रकारको अनलाइन व्यवहार निकै राम्रो हो। तर, हामीलाई यस्ता गतिविधि अझ धेरै आवश्यक छन्।”

उनी थप्छन्, “यदि हामी समाजमा रहेका कमजोरीहरू सच्याउन चाहन्छौँ भने मानिसहरूलाई अझ महत्वपूर्ण सामाजिक योगदानतर्फ अग्रसर गराउन यो अभियानले प्रारम्भिक अवसर सिर्जना गर्न सक्छ।”
सकारात्मक उद्देश्यका लागि अनलाइन ट्रोलिङ
“सन् २०२३ जनवरी १ मा म सकारात्मक प्रभाव कसरी फैलाउन सकिन्छ भन्नेबारे सोचिरहेको थिएँ,” ब्रिक्ली भन्छन्।
“नकारात्मक टिप्पणी गर्ने धेरै मानिसले आफूले लेखेको कुरालाई साँच्चै गम्भीरतापूर्वक लिएका हुँदैनन् जस्तो मलाई लाग्छ। उनीहरू अरूले गरेको देखेर त्यसैको अनुसरण गरिरहेका हुन्छन्।”

उनका अनुसार यही सोचले नयाँ विचार जन्मायो।

“त्यही बेला मेरो दिमागमा एउटा विचार आयो। यदि मैले १० जना मानिसको सानो समूह बनाएर सकारात्मक टिप्पणीहरू बाढीजस्तै फैलाउन थालेँ भने के नकारात्मकताको प्रभावलाई सन्तुलनमा ल्याउन सकिएला?”

सुरुमा १० जना मानिसलाई लक्ष्य बनाएका ब्रिक्लीको अभियान अहिले निकै ठूलो बनेको छ।

उनका अनुसार उनले हालसम्म करिब ३५० वटा यस्ता समूहगत अभियान सञ्चालन गरिसकेका छन्। औसतमा प्रत्येक भिडियोमा एक हजार टिप्पणी आउने गरेका छन्। सफल भिडियोहरूमा दसौँ हजार वा त्योभन्दा बढी टिप्पणी आउँछन् र लाखौँले ती भिडियो हेर्छन्।

हालैको एउटा अभियानमा चर्चित अमेरिकी सेलिब्रेटी पेरिस हिल्टनसमेत सहभागी भएकी थिइन्।

अभियानमा सहभागी धेरै मानिसले पछि आफूले सकारात्मक टिप्पणी गरेका व्यक्तिको सामग्री मन पराउन थाल्छन् र उनीहरूलाई निरन्तर साथ दिन्छन्।

यसले कतिपय मानिसको जीवनमै परिवर्तन ल्याएको छ।

अमेरिकाको ओहायोकी रेनी पेनिक नाम गरेकी एक हजुरआमा आफ्ना श्रीमान् अस्पतालको शय्यामा रहेका बेला यो अभियानको सम्पर्कमा आइन्। त्यस कठिन समयमा अभियानले उनलाई मानसिक बल प्रदान ग¥यो। साथै, उनका भिडियो वरिपरि एउटा सहयोगी समुदाय पनि निर्माण भयो।

न्युयोर्कको उत्तरी क्षेत्रमा बस्ने नोक्टर्न नामकी एक संगीतकर्मीले पनि यस अभियानबाट धेरै नयाँ प्रशंसक पाएको बताएकी छन्। उनका अनुसार अब उनी सांगीतिक भ्रमणमा निस्कने तयारीमा छिन्।

ब्रिक्लीले लौरा टिगेलेइरोलाई आफ्नो अभियानमा समेटेपछि उनका फलोअर्सको संख्या निकै बढ्यो। त्यसपछि टिकटकबाटै उनले आम्दानी गर्न थालिन्।

लौराका अनुसार उनले कमाएको पैसाले आफ्नो परिवारका लागि अत्यावश्यक नयाँ गाडी किन्न सकिन्।

“मैले राम्रो जीवनको सपना देखेकी थिएँ। टायलरले मलाई त्यो अवसर दिए,” लौरा भन्छिन्, “म उनलाई यसको सम्पूर्ण श्रेय दिन्छु, तर उनी भने यसमा मसँग सहमत हुने छैनन्।”

उता, ब्रिक्ली भने अभियानको वास्तविक उद्देश्यबाट ध्यान नहटोस् भनेर आफू र आफ्नो समूहलाई सकेसम्म पर्दापछाडि राख्न चाहन्छन्।

“हामी यस कथाको मुख्य पात्र होइनौँ। हाम्रो उद्देश्य ध्यान भड्काउने तत्व हटाउनु हो। मानिसहरूले गरेका घृणापूर्ण टिप्पणीहरूलाई पन्छाएर सम्बन्धित व्यक्तिको सामग्रीलाई अगाडि आउन दिनु नै हाम्रो काम हो,” उनी भन्छन्।
दयालु व्यवहार पनि संक्रमणजस्तै फैलिन्छ
अनलाइन संसारमा व्याप्त नकारात्मकताबारे कुरा गर्दा धेरै मानिस इन्टरनेटलाई एउटा ऐनाका रूपमा वर्णन गर्छन्। उनीहरूका अनुसार इन्टरनेटले मानिसभित्र रहेको स्वाभाविक क्रूरतालाई प्रतिबिम्बित मात्र गर्छ।

तर, प्राध्यापक क्रिस्टाकिसका अनुसार सामाजिक सञ्जालमा भइरहेको घटनालाई यसरी बुझ्नु गलत हुन्छ।

“हो, हामी मानिसहरूमा छलकपट गर्ने, समूहगत पक्षपात गर्ने, खराब व्यवहार गर्ने र अरूलाई हानि पु¥याउने प्रवृत्तिको विकास भएको छ,” उनी भन्छन्।

“तर, हामी असल बन्न, प्रेम र मित्रता प्रकट गर्न, दयालु व्यवहार गर्न र अरूलाई सिकाउन सक्ने गुणसहित पनि विकसित भएका हौँ।”

क्रिस्टाकिसले आफ्नो पुस्तक द्यगिभउचष्लतः त्जभ भ्खयगितष्यलबचथ इचष्नष्लक या ब न्ययम क्यअष्भतथ मा पनि यही विषयमा चर्चा गरेका छन्।

उनका अनुसार मानिसको स्वाभाविक अवस्थामा असल गुणहरू खराब गुणभन्दा बढी प्रभावकारी हुनुपर्छ। अन्यथा, मानिसहरूले एकअर्कासँग निरन्तर सम्पर्कमा रहनुपर्ने समाज निर्माण गरेर बस्नुको सट्टा एक्लै बस्न सिकिसकेका हुन्थे।

क्रिस्टाकिसका अनुसार सामाजिक सञ्जालले मानिसका यिनै पुराना, मैत्रीपूर्ण र समाजलाई सहयोग गर्ने गुणहरूलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्छ।

यसमा गुमनाम रूपमा टिप्पणी गर्न सकिने सुविधा र विवाद तथा झगडालाई बढी प्राथमिकता दिने एल्गोरिदमको भूमिका हुन्छ। मानिसहरूलाई लामो समयसम्म मोबाइलमा व्यस्त राख्न यस्ता सामग्रीले मद्दत गर्छन्।

अर्थात्, क्रिस्टाकिसका विचारमा ‘काइन्डनेस मोब’ अभियानले सामाजिक सञ्जालको नकारात्मक प्रभावलाई छल्दै मानिसलाई स्वाभाविक र सकारात्मक अन्तरक्रियातर्फ प्रोत्साहित गरिरहेको छ।

वास्तवमा, धेरैजसो वयस्क मानिस कुनै अपरिचित व्यक्तिको घरमा गएर उसको रूपरङ्गको अपमान गर्दैनन्। तर, सामाजिक सञ्जालमा भने भिडियोको टिप्पणीमा बसेर त्यही व्यवहार गर्न उनीहरू हिचकिचाउँदैनन्।

यस्तो सकारात्मक व्यवहारले थप सकारात्मक प्रभावहरू पनि जन्माउन सक्छ।

क्रिस्टाकिस भन्छन्, “हामीले प्रयोगात्मक अनुसन्धानमार्फत सकारात्मक व्यवहारको शृङ्खला निर्माण गर्न सकिन्छ भन्ने देखाएका छौँ।”

उनी उदाहरण दिँदै भन्छन्, “तपाईंले सुसीसँग राम्रो व्यवहार गर्नुभयो, सुसीले बेट्टीसँग राम्रो व्यवहार गरिन् र बेट्टीले टमीसँग राम्रो व्यवहार गरिन् भने बेट्टीले टमीसँग गर्ने व्यवहार तपाईंले सुसीसँग गरेको व्यवहारबाट प्रभावित हुन सक्छ। जबकि तपाईं र ममध्ये कसैले पनि बेट्टी वा टमीसँग प्रत्यक्ष कुराकानी गरेका हुँदैनौँ।”

नकारात्मक टिप्पणीले भरिएको जस्तो देखिने इन्टरनेटमा ‘काइन्डनेस मोब’ ले विज्ञानबाट समेत समर्थन पाएको एउटा सम्भावित समाधान प्रस्तुत गरेको क्रिस्टाकिसको भनाइ छ।

अनुसन्धानअनुसार, जब मानिसहरूले ट्रोल गर्ने व्यक्तिहरूसँग विवादमा संलग्न हुन छाड्छन् र एकअर्कासँग सकारात्मक सम्बन्ध निर्माण गर्न थाल्छन्, तब ट्रोल गर्ने व्यक्तिहरूको व्यवहारसमेत परिवर्तन हुन सक्छ।

तर, यसरी दयालु व्यवहार फैलाउने अभियानलाई व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी कसैले त लिनैपर्छ।
दयालु व्यवहार फैलाउँदाको मानसिक थकान
सन् २०२५ को सेप्टेम्बरमा ब्रिक्लीको फलोअर्स संख्या एकैपटक ३० हजारबाट बढेर दुई लाख पुगेको थियो।

“त्यो निकै उत्साहजनक थियो,” उनी भन्छन्। तर, फलोअर्स बढेसँगै जिम्मेवारी र मानसिक दबाब पनि बढ्न थाल्यो।

“एक दिन म मोबाइल हेरिरहेको थिएँ। त्यही बेला मलाई अब म यो काम गर्न सक्दिनँ भन्ने लाग्यो,” ब्रिक्ली सम्झन्छन्।

यो अभियानबाट उनले उल्लेख्य आर्थिक लाभ भने पाएका छैनन्। धेरै फलोअर्स भएका टिकटक खाताले आम्दानी गर्न सक्ने भए पनि ब्रिक्लीका अनुसार सन् २०२५ को अगस्टमा उनले जम्मा ३९ अमेरिकी डलर अर्थात् करिब २९ बेलायती पाउन्ड कमाएका थिए।

उनलाई यो अभियान निरन्तर अघि बढाउन प्रेरित गर्ने मुख्य कुरा व्यक्तिगत जिम्मेवारीको भावना हो।

हरेक दिन ‘काइन्डनेस मोब’ को वेबसाइटमा रहेको फाराममार्फत २० देखि १०० जनासम्मले आफू वा अरू कसैलाई अभियानमा समेट्न आग्रह गर्छन्।

तर, दर्शकको ध्यान सीमित हुन्छ र ब्रिक्लीले दिनमा एउटा व्यक्तिका लागि मात्र अभियान सञ्चालन गर्छन्।

“यसको अर्थ, हरेक दिन २० जना मानिस मेरो ढोकामा आइपुगिरहेका छन्। उनीहरू सबैले जानाजानी गरिएको क्रूर व्यवहारको सामना गरिरहेका छन्,” उनी भन्छन्।

“तर, मैले तीमध्ये १९ जनालाई सहयोग गर्न नसक्ने बताउनुपर्छ। भोलिपल्ट फेरि २० जना नयाँ मानिस आउँछन्।”

अन्ततः यति धेरै मानिसको पीडा र अपेक्षाको भार उनका लागि असह्य बन्न थाल्यो। त्यसैले उनले केही महिनाका लागि अभियानबाट विश्राम लिनुप¥यो।

मानसिक दबाब कम गर्न ब्रिक्लीले आफ्नो अभियानलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरे।

आफूले आवश्यकतामा रहेका हरेक व्यक्तिलाई प्रत्यक्ष रूपमा सहयोग गर्न नसके पनि दिनमा एक जनालाई छनोट गरेर उनको घटनालाई सकारात्मक व्यवहारको उदाहरण बनाउन सकिने उनले महसुस गरे। साथै, अभियानका व्यवस्थापकीय काममा सहयोग गर्न केही स्वयंसेवक पनि परिचालन गरे।

डाटा एन्ड सोसाइटी रिसर्च इन्स्टिच्युटकी अनुसन्धान निर्देशक प्राध्यापक एलिस मारविक भन्छिन्, “मैले दुई दशकदेखि व्यावसायिक रूपमा इन्टरनेट संस्कृतिको अध्ययन गर्दै आएकी छु। यस्ता अभियानहरूको प्रभावकारिता प्रायः सीमित समयसम्म मात्र रहन्छ।”

“सामान्यतया, यस्ता अभियानका पछाडि रहेका व्यक्तिहरू एक वा दुई वर्षमै मानसिक रूपमा थाक्छन् र अन्ततः अभियान हराएर जान्छ।”

मारविकका अनुसार सामाजिक सञ्जालका प्लेटफर्महरूले प्रयोगकर्ताको व्यवहारप्रति ठूलो जिम्मेवारी लिनुपर्छ। तर, सबै समस्याको दोष एल्गोरिदमलाई मात्र दिन मिल्दैन।

“हामीलाई अनलाइनमा एकअर्कासँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा सामाजिक मान्यतामै ठूलो परिवर्तन आवश्यक छ,” उनी भन्छिन्।

“अनलाइनमा सकारात्मक र समाजोपयोगी व्यवहारलाई प्रोत्साहन गर्ने विचार मलाई मन पर्छ। तर, यसले वास्तवमै ठूलो परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने कुरा भने हेर्न बाँकी छ।”

बीबीसीबाट अनुवादित


प्रकाशित मिति: ६ कार्तिक २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?