१४ कार्तिक २०८३ ,शुक्रबार

भक्तपुरमा पायःद्यो खड्ग जात्रा सम्पन्न, सेतो घोडा जात्रा दुई वर्षदेखि रोकिँदै


Khadga jatra

 

भक्तपुर । विजयादशमीको मध्यरातदेखि भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रा एकादशीको बिहान सम्पन्न भएको छ। तलेजु भवानी र नवदुर्गा देवगणबीचको धार्मिक तथा तान्त्रिक विधिअनुसार जात्रा सम्पन्न गरिएको हो। यद्यपि, तलेजु भवानीको वाहनका रूपमा मानिने सेतो घोडाको नगर परिक्रमा भने विगत दुई वर्षदेखि रोकिएको छ।

विजयादशमीका दिन ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण राति ब्रह्मायणीबाट भक्तपुरका विभिन्न टोल परिक्रमा गर्दै दरबार क्षेत्र पुगेका थिए। त्यसपछि बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीको दर्शन तथा ढोग गरी मन्त्रसिद्धि प्राप्त गर्ने परम्पराअनुसार जात्रा अगाडि बढाइएको थियो।

राति नै नवदुर्गाका देवगण देवगृह फर्किएपछि तलेजु दरबार क्षेत्रस्थित जगन्नाथ अर्थात् पशुपति मन्दिरको परिक्रमा गरी ढोग गर्ने र तलेजुको देवगृहमा प्रवेश गराउने धार्मिक विधिसँगै जात्रा बिहानीपख सम्पन्न गरिएको हो।

खड्ग जात्राका क्रममा तलेजुसँग सम्बद्ध राजोपाध्यायले पायःद्यो अर्थात् तलेजु भवानीको प्रतिरूपलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोकसम्म लैजाने परम्परा छ। त्यहाँ सर्वसाधारणलाई पूजा तथा दर्शन गर्ने अवसर प्रदान गरिन्छ।

तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार बडादशैंको मध्यरातमा तलेजु आगम घरको खँ कुथि कोठामा तान्त्रिक विधिअनुसार पूजा गरिएका बलिपात्र तथा शस्त्रास्त्रसहित पायःद्योको जात्रा सुरु हुन्छ। तलेजुका मूल आचाजु तथा पुरोहितबाट राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्राको प्रारम्भ हुने उहाँले जानकारी दिनुभयो।

संस्कृतिविद् प्रकाश कायस्थका अनुसार पायःद्यो जात्रामा तलेजु भवानीको साक्षात् रूप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याउने परम्परा छ। यस जात्राले भक्तपुरको तान्त्रिक परम्परा, धार्मिक आस्था तथा ऐतिहासिक सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गर्छ।

जात्राका क्रममा तलेजु भवानीलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार अर्थात् गोल्डेन गेटमा ल्याइन्छ। त्यहाँ पङ्क्तिबद्ध भएर प्रतीक्षारत नवदुर्गा देवगणलाई तलेजु भवानीबाट पालैपालो मन्त्रसिद्धि प्रदान गरिन्छ। मन्त्रसिद्धि प्राप्त गरेपछि पायःद्यो तथा नवदुर्गा देवगण यात्रा मार्गमा अगाडि बढ्ने प्रचलन रहेको संस्कृतिविद् कायस्थले बताउनुभयो।

चन्द्रमासको तिथि र गतिअनुसार नगरको माथिल्लो वा तल्लो क्षेत्रमा जात्रा सञ्चालन गर्ने परम्परा छ। यस वर्ष तल्लो क्षेत्रमा जात्रा सञ्चालन गरिएको थियो। सो क्रममा खौमा, इताछे, टेखापुखु, वंशगोपाल र तौमढी हुँदै नवदुर्गाका देवगणले तलेजु भवानीको दर्शन गरेका थिए। तलेजुबाट मन्त्रसिद्धि प्राप्त गरेपछि नवदुर्गा सिद्ध हुने धार्मिक मान्यताअनुसार जात्रा मनाइएको हो।

विजयादशमीको राति तलेजु भवानीका चार मूल नाइके, आचाजु, जोशी तथा राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा सुरु गर्ने परम्परा छ। जात्राअघि सेतो घोडालाई एउटा भेडाको बलि चढाएर तलेजुको मूलचोकबाट बाहिर निकाल्ने र भक्तपुर नगर परिक्रमा गराउने चलन रहेको छ।

परम्पराअनुसार ब्रह्मायणी र तलेजु भवानीलाई नगरका विभिन्न क्षेत्रमा परिक्रमा गराउने क्रममा तलेजुको वाहन सेतो घोडालाई पछिपछि लगेर जात्रा मनाइन्थ्यो। तर, विगत दुई वर्षदेखि सेतो घोडाको नगर परिक्रमा रोकिएको छ। घोडा जात्रा रोक्नुको कारणबारे सम्बन्धित आयोजकबाट आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

भक्तपुरको पायःद्यो खड्ग जात्रा र सेतो घोडा जात्रा यहाँको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका महत्त्वपूर्ण परम्परा हुन्। यी जात्रामा तलेजु भवानी, नवदुर्गा देवगण तथा नगरका विभिन्न टोलको सहभागिताले भक्तपुरको जीवन्त सांस्कृतिक सम्पदालाई उजागर गर्दै आएको छ।


प्रकाशित मिति: ६ कार्तिक २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?