१५ कार्तिक २०८३ ,शनिबार

‘यदि मैले तिमीलाई मारें भने कसैले सुन्नेछैन’


 

छोरीका बुबा एक दिन उनको कोठामा गए र बन्दुक ओछ्यानमा राखे। त्यसपछि उनले छोरीलाई भने, “यदि मैले तिमीलाई मारें भने कसैले सुन्नेछैन।”

काठमाडौं  ‘कारबाट बाहिर निस्कि!’

एक महिला रिसाउँदै चिच्याइउँछिन्। उनी कारको ढोका खोल्ने प्रयास गरिरहेकी छिन् । तर, चालक भने कारबाट बाहिर निस्कन अस्वीकार गरिरहेका थिए। महिला त्यहीँ उभिएर उनको सामना गरिरहन्छिन् ।

यो घटना इराकको राजधानी बग्दादको व्यस्त सडकमा भएको थियो। महिलाले आफ्नै मोबाइलबाट घटनाको भिडियो बनाइरहेकी थिइन्।
उनको आरोप थियो कि सडकबाट हिँडिरहेका बेला कार चालकले आफ्नो गोप्य अङ्ग देखाउनुका साथै अश्लील कुरा गरेका थिए।

यो र यो जस्तै अन्य घटनाका भिडियो इराकमा महिला अधिकारका लागि काम गर्ने सारा जासिमको इन्स्टाग्राम पेजमा हेर्न सकिन्छ।
साराले यस्ता भिडियो ती महिलाका तर्फबाट सार्वजनिक गर्छिन्, जसले इराकी पुरुष तथा युवामाथि यौन दुव्र्यवहार र उत्पीडनको आरोप लगाएका छन्।

‘समाजले प्रायः पीडित महिलालाई नै दोष दिन्छ’

साराले सार्वजनिक गरेको एउटा भिडियोमा एक महिला आफूलाई गोप्य अङ्ग देखाएको आरोप लागेका पुरुषमाथि चिच्याइरहेको देखिन्छ। त्यसपछि उनले ती पुरुषको कारको ढोका खोल्ने प्रयास गर्छिन्।

साराले बीबीसीसँग भनिन्, “तपाईंको क्यामेरा नै तपाईंको हतियार हो। यदि कुनै महिलाले आफूलाई उत्पीडन गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाउने निर्णय गर्छिन् भने भिडियो प्रमाणका रूपमा काम गर्न सक्छ। कम्तीमा पनि त्यस व्यक्तिलाई लज्जित बनाउने माध्यम त बन्न सक्छ।”

साराका अनुसार, उनले सार्वजनिक गरेको एउटा भिडियोपछि आरोपित व्यक्ति पक्राउ परेका थिए। ती व्यक्ति प्रहरीकर्मी थिए र उनीमाथि विद्यालयका छात्राहरूलाई उत्पीडन गरेको आरोप लागेको थियो।

साराले भनिन्, यस्ता भिडियो सार्वजनिक गर्नु आफ्ना लागि र सम्बन्धित महिलाहरूका लागि जोखिमपूर्ण छ।
हामीले इराकमा यौन उत्पीडनको सामना गरेका धेरै महिलासँग कुरा ग¥यौँ। उनीहरूको भनाइ थियो कि समाजले प्रायः पीडित महिलालाई नै दोषी ठहर गर्छ।

साराले भनिन्, “मलाई ज्यान मार्ने धम्की दिइएको छ। ममाथि एसिड आक्रमण गर्ने धम्कीसमेत आएको छ।”

“महिलाहरूलाई चुप लागेर बस्नुपर्ने अपेक्षा गरिने समाजमा उनीहरूलाई बोल्न प्रोत्साहित गरेकै कारण ममाथि सार्वजनिक रूपमा अश्लीलता फैलाएको आरोप लगाइएको छ।”

आफ्नो सुरक्षाका कारण सारा अहिले मुस्किलले मात्रै घरबाहिर निस्कन्छिन्। बरु उनी आफ्नो कुकुरसँग धेरै समय बिताउँछिन्।
उनका अनुसार इराकमा अझ कडा कानुनको आवश्यकता छ। ‘उत्पीडन’ र ‘लैङ्गिक हिंसा’ लाई स्पष्ट रूपमा अपराध मान्ने कानुन बनाउनुपर्छ। हाल इराकको दण्ड संहितामा यी शब्दको स्पष्ट उल्लेख छैन।

उनी भन्छिन्, “समस्या स्वीकार गर्नु नै त्यसको समाधानतर्फ अघि बढ्ने सबैभन्दा राम्रो उपाय हो। हामीलाई सुरक्षा चाहिन्छ र दुव्र्यवहार गर्नेहरूलाई रोक्नुपर्छ।”

‘यदि मैले तिमीलाई मारें भने कसैले सुन्नेछैन’
छोरीका बुबा एक दिन उनको कोठामा गए र बन्दुक ओछ्यानमा राखे। त्यसपछि उनले छोरीलाई भने, “यदि मैले तिमीलाई मारें भने कसैले सुन्नेछैन।”
अमल (नाम परिवर्तन) ले छोरीले सुनाएको भयावह घटनाको स्मरण गरिन्।

उनको आरोप छ कि उनका पूर्वपतिले उनकी छोरीमाथि पटक–पटक बलात्कार गरेका थिए। त्यसबेला उनकी छोरी १८ वर्षभन्दा कम उमेरकी थिइन्।

उनी करिब पाँच वर्षदेखि अदालतमा न्यायका लागि कानुनी लडाइँ लडिरहेकी छन्।

उनको आरोपअनुसार, पूर्वपतिले बन्दुकको डर देखाएर छोरीमाथि पटक–पटक बलात्कार गरेका थिए।
इराकका धेरै महिलाले बीबीसीसँग न्याय प्रणाली र प्रहरीले आफूहरूलाई साथ नदिएको बताएका छन्।

हामीले कुरा गरेका अधिकारकर्मी र वकिलका अनुसार इराकमा यौन उत्पीडन वा बलात्कारका आरोपितविरुद्ध कानुनी कारबाही अघि बढाउनु लामो प्रक्रिया हो। प्रक्रिया जटिल छ र त्यसको नतिजाबारे पनि निश्चितता हुँदैन।

महिलामाथि हुने भेदभावसम्बन्धी विषय हेर्ने संयुक्त राष्ट्रसंघीय समितिले मे महिनामा सार्वजनिक गरेको प्रतिवेदनमा इराकमा महिला तथा बालिकामाथि हुने हिंसा व्यापक रहेको र अधिकांश घटना दर्तासमेत नहुने उल्लेख गरेको थियो।
समितिले कानुनलाई थप बलियो बनाउन आग्रह गरेको थियो।

समितिले दिएका दर्जनौँ सुझावमध्ये बलात्कार गर्ने व्यक्तिले पीडितसँग विवाह गरेर सजायबाट बच्न सक्ने भेदभावपूर्ण कानुन हटाउन पनि अधिकारीहरूलाई आग्रह गरिएको थियो।

 त्यस्तै, तथाकथित ‘इज्जतका नाममा हुने हत्या’ अर्थात् अनर किलिङका घटनामा सजाय कम गर्न अनुमति दिने कानुनी व्यवस्थासमेत हटाउन समितिले माग गरेको थियो।

अमलका अनुसार, उनका पूर्वपतिको क्रूरताको अर्को उदाहरण त्यतिबेला देखियो, जब उनले परिवारका एक सदस्यलाई पक्राउ परेमा ‘हाम्रो बदनामी धोइदिनू’ भनेको सुनिन्।

इराकमा यस्तो अभिव्यक्ति तथाकथित ‘इज्जतका नाममा हुने हत्या’ सँग जोडिने गर्छ। परिवारको प्रतिष्ठामा महिलाले क्षति पु¥याएको ठान्ने सोचका आधारमा यस्ता हत्या गरिन्छन्।
अमलको विश्वासमा, उनका पूर्वपतिले मेडिकल रिपोर्ट सार्वजनिक हुन र आफूमाथिको आक्रमण प्रमाणित हुन नदिन छोरीलाई ज्यान मार्ने धम्की दिएका थिए।

उनका अनुसार, पूर्वपति अहिले फरार छन् र अदालतमा मुद्दा चलिरहेको छ।

महिला अधिकारकर्मीको हत्या

इराकमा घरेलु यौन दुव्र्यवहारको सामना गर्ने अन्य धेरै महिलाको तुलनामा अमलकी छोरीको अवस्था केही सुरक्षित छ, किनभने उनीसँग बस्नका लागि सुरक्षित ठाउँ छ।

यौन दुव्र्यवहारको सामना गरेका धेरै महिलाको आफ्नै आम्दानी हुँदैन र जाने ठाउँसमेत हुँदैन। इराकमा हिंसापीडित महिलाका लागि आश्रयस्थल निकै कम छन्।

हामीलाई जानकारी भएका केही आश्रयस्थल महिला अधिकारकर्मी यानार मोहम्मद सहसंस्थापक रहेको एउटा संस्थाले स्थापना गरेको थियो। यानार अन्तर्राष्ट्रिय स्तरमा परिचित महिला अधिकारकर्मी थिइन्।

गत मार्चमा बग्दादस्थित आफ्नै घरबाहिर हतियारधारी व्यक्तिहरूले उनको हत्या गरेका थिए। हत्यामा संलग्न व्यक्तिहरूको पहिचान अहिलेसम्म हुन सकेको छैन।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का लागि काम गर्ने विशेषज्ञहरूले अप्रिलमा सार्वजनिक गरेको विवरणमा मोहम्मदले धेरै वर्षदेखि ज्यान मार्ने धम्की र अनलाइन दुव्र्यवहार सामना गरिरहेको उल्लेख गरेका थिए।

ती धम्की ‘चरमपन्थी धार्मिक मिलिसिया’ बाट आएको विश्वास गरिएको थियो। अधिकारकर्मीहरूले पछिल्ला वर्षहरूमा आफ्ना सहकर्मीलाई लक्षित गरी हुने आक्रमण बढेको बताएका छन्। महिला अधिकारका लागि काम गर्ने अर्की प्रमुख अभियन्ता हना एडवरले यानार मोहम्मदको हत्या हुनुभन्दा दुई दिनअघि मात्रै उनीसँग भेट भएको बताइन्। हनाले आफूले पनि धम्की सामना गर्नुपरेको बताइन्। उनले भनिन्, “इराकमा महिलाका लागि न कानुन छ, न सुरक्षा छ, न न्याय।”

इराकी अब्जर्भेटरी फर ह्युमन राइट्सका प्रमुख मुस्तफा सादुनले बीबीसीसँग भने, “इराकको समस्या महिलाहरू चुप लागेर बस्छन् भन्ने होइन। समस्या त उनीहरूले बोल्दा उनीहरूको कुरा सुनिने व्यवस्था र माध्यम निकै कम हुनु हो।” उनले थपे, “यौन हिंसाबारे उजुरी गर्ने महिलाले सबैभन्दा पहिले आफ्नो परिवारबाट बाहिर निस्कनुपर्छ। त्यसपछि प्रहरी चौकी र अदालतसम्म पुग्नुपर्छ। यी प्रत्येक ठाउँमा कसैले उनलाई मुद्दा चुपचाप मिलाउन भनिदिन सक्छ।”

‘कारमा बसेको व्यक्तिले मेरो पिछा ग¥यो’
समीरा पनि इराककी त्यस्ती महिलामध्ये एक हुन्, जसले आफूलाई न्याय प्रणालीले साथ नदिएको महसुस गरेकी छन्। समीरा उनको वास्तविक नाम होइन।

उनले बीबीसीसँग भनिन्, बारम्बार उत्पीडनको सामना गर्नुपरेकाले सडकमा हिँड्दा पनि उनी सधैँ डर र सतर्कतामा रहन्छिन्।
उनका अनुसार, एकपटक सार्वजनिक यातायातमा एक पुरुषले आफ्नो मोबाइलमा अश्लील चलचित्र हेरिरहेका थिए र मोबाइल उनको अनुहारअगाडि ल्याएका थिए।
बग्दादमा भएको अर्को घटनाबारे बताउँदै उनले एक व्यक्तिले १० मिनेटभन्दा बढी समयसम्म कारमा बसेर आफ्नो पिछा गरेको जानकारी दिइन्।
उनले भनिन्, “यो निकै तनावपूर्ण थियो। मैले प्रहरीको गाडी देखेँ। म त्यहाँ गएर प्रहरीलाई के भएको थियो भनेर बताएँ। तर उनीहरूले आफूहरूसँग केही गर्ने अधिकार नभएको बताए।”

समीरा आफ्नी आमालाई निकै माया गर्छिन् र आमाले पनि उनलाई साथ दिन्छिन्। तर पनि उनी आफूले सामना गरेका यौन उत्पीडनका घटनाबारे आमालाई बताउँदिनन्।
उनी भन्छिन्, “यदि मैले परिवारलाई बताएँ भने उनीहरूले मलाई सुरक्षित राख्न घरबाहिर ननिस्कन भन्नेछन्।”
समीरा सरकारी संस्थाहरूमाथिको विश्वास गुमाइसकेकी छन्।
उनी भन्छिन्, “प्रहरी अधिकारीसहित धेरै पुरुषलाई यौन उत्पीडन गर्नुमा केही गलत छ जस्तो लाग्दैन। उनीहरूका अनुसार उत्पीडन नगर्ने व्यक्ति पुरुष नै होइन।”

इराकमा मैले कुरा गरेका धेरै महिलाले प्रहरीकर्मीसँग सम्बन्धित यौन उत्पीडनका आरोपसमेत लगाएका थिए।

गृह मन्त्रालयको भनाइः ‘धेरै घटना प्रहरीसम्म पुग्दैनन्’

इराकको गृह मन्त्रालयका प्रवक्ता मुक्दाद मिरीले समाज, रीति–रिवाज र परम्पराका कारण यौन हिंसाका केही घटनाबारे उजुरी दर्ता नहुने बताएका छन्।
मैले उनीसमक्ष प्रहरीकर्मीहरू नै उत्पीडनमा संलग्न हुने गरेको आरोप राखेँ।
मिरीले भने, “प्रहरीकर्मी उत्पीडनमा संलग्न भएका घटना सार्वजनिक भएका छन्, तर यस्ता घटना निकै कम छन्। उनीहरूलाई कडा सजाय दिइन्छ। १० वर्षसम्म जेल सजाय हुन सक्छ र उनीहरूलाई जागिरबाट समेत हटाइन्छ।”
केही महिलाले प्रहरीमा उजुरी गर्न डराउने भएकाले सामाजिक सञ्जालमार्फत उत्पीडनका प्रमाण सार्वजनिक गर्न थालेको विषयमा पनि मैले उनीसँग कुरा गरेँ।
उनका अनुसार, औपचारिक उजुरी दर्ता गर्नुभन्दा सामाजिक सञ्जालमा घटना सार्वजनिक गर्नु सजिलो हुन्छ। कुनै विषयमा ध्यानाकर्षण गराउन सामाजिक सञ्जाल प्रयोग गर्नु अहिले सामान्य अभ्यास पनि बनेको छ।
मैले समीरा भोगेको घटनाबारे पनि उनलाई जानकारी गराएँ। समीरा अनुसार, एक प्रहरी अधिकारीले आफूसँग उत्पीडन रोक्ने अधिकार नभएको बताएका थिए।
मिरीले समीरा ती प्रहरी अधिकारीविरुद्ध उजुरी दिन सक्ने बताउँदै आफूले कानुनी प्रक्रिया अघि बढाउन सक्ने धारणा राखे।
इराकमा यौन हिंसा तथा उत्पीडनसम्बन्धी विश्वसनीय तथ्याङ्क उपलब्ध छैन।
मिरीका अनुसार, यस वर्षको सुरुदेखि प्रहरीले यौन हिंसासम्बन्धी करिब ३०० उजुरी प्राप्त गरेको छ।
यद्यपि, उनले वास्तविक सङ्ख्या योभन्दा बढी रहेको स्वीकार गरे।
उनले भने, “समाज, रीति–रिवाज र परम्पराका कारण धेरै घटना प्रहरीसम्म पुग्दै पुग्दैनन्।”

‘लडाइँ यौन हिंसाविरुद्ध मात्र होइन’

बीबीसीसँग कुरा गरेका महिलाका अनुभवले उनीहरूको लडाइँ यौन हिंसाविरुद्ध मात्र सीमित नभएको देखाउँछन्।
उनीहरू यस्तो हिंसालाई निरन्तरता दिने गहिरो सामाजिक सोच र मान्यताविरुद्ध पनि संघर्ष गरिरहेका छन्।
हना एडवरले पाँच दशकभन्दा बढी समयदेखि महिला अधिकारका विषयमा काम गर्दै आएकी छन्। तर वर्तमान अवस्थाबारे उनको मूल्याङ्कन निराशाजनक छ।

उनले भनिन्, “सद्दाम हुसेनको सरकार ढलेको २३ वर्षपछि महिलाको अधिकारका विषयमा हामी पछाडि फर्किरहेका छौँ जस्तो लाग्छ।”
यद्यपि, हना र सारा दुवैले आफूहरू हार नमान्ने बताएका छन्।
साराले भनिन्, “यदि हामी सबै डरायौँ भने केही पनि परिवर्तन गर्न सकिँदैन।”

बीबीसीबाट अनुवादित अंश


प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?