२४ असोज काठमाडौं विद्यालय शिक्षा विधेयकको मस्यौदाबारे सरोकारवालाका सुझाव संकलन गर्ने उद्देश्यले ‘शिक्षा संवाद भाग–२’ कार्यक्रम मधेश प्रदेशबाट सुरु भएको छ।
विद्यालय शिक्षा विधेयकमा के-कस्ता विषय समेटिएका छन्, के राम्रो छ, के सुधार गर्न आवश्यक छ र कुन विषयमा विशेष ध्यान दिनुपर्छ भन्नेबारे सरोकारवालासँग छलफल गर्न हरेक प्रदेशमा कार्यक्रम आयोजना गरिने भएको हो।
यसैक्रममा मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यालय सञ्चालक, प्राध्यापक तथा शिक्षाविद्हरूसँग विद्यालय शिक्षा विधेयकको मस्यौदाका विभिन्न पक्षमा छलफल गर्दै सुझाव संकलन गरिएको आयोजकले जनाएको छ।
मधेश प्रदेशमा कार्यक्रम सम्पन्न भएसँगै अब कोशी प्रदेशको इटहरीमा ‘शिक्षा संवाद भाग–२’ आयोजना गरिने भएको छ। यस अभियानमार्फत विद्यालय शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाका धारणा तथा सुझाव समेट्ने लक्ष्य राखिएको छ।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार









