१४ कार्तिक २०८३ ,शुक्रबार

बीपी राजमार्गमा खुल्यो, पृथ्वी राजमार्गको गलौदी सडकखण्ड खुलाउने प्रयास जारी


२४ असोज काठमाडौं । पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदी सडकखण्ड भने खुलाउने काम भइरहेको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खसेपछि रातिदेखि अवरुद्ध बीपी राजमार्ग पहिरो र लेदो हटाएपछि दुईतर्फी सञ्चालनमा आएको हो।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र अघि बढ्न र आवश्यक जानकारीका लागि स्थानीय प्रहरी, प्रहरीको १०० नम्बर वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि यातायात अवरुद्ध भएको छ। उक्त सडकखण्ड खुलाउन सडक विभागले ‘ब्याक कटिङ’को काम सुरु गरेको जनाएको छ।
सडक विभागले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै स्थानीय निकायसँग छलफलपछि सडक खुलाउने काम अघि बढाइएको जानकारी दिएको छ। अवस्था सामान्य रहे शनिबार अपराह्न ४ बजेसम्म, अर्थात् काम सुरु भएको करिब आठ घण्टाभित्र यातायात सञ्चालनमा ल्याउन सकिने विभागको अनुमान छ।

यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ‘ब्याक कटिङ’को काम सुरु गर्न नसकिएको पनि विभागले जनाएको छ।

 


प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?