२३ असोज भक्तपुर। भक्तपुर नगरपालिकाले बेरुजु सम्बन्धमा सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसबारे स्पष्टीकरण दिएको छ।
केहि दिन यता भक्तपुर नगरपालिकामा २ करोड ९ लाख ११ हजार रुपैयाँको अनियमितता र ४ करोड ६० लाख रुपैयाँ खर्चको प्रमाण नभएको भन्ने विषयमा विभिन्न सामाजिक संजालहरुमा प्रश्न उठेपछि नगरपालिकाले विज्ञप्ति निकालेर स्पष्टिकरण दिएको हो ।
नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, आर्थिक वर्ष २०८१÷८२ को लेखा परीक्षणका क्रममा उल्लेख भएको रकम कर्मचारीको उपदान तथा सेवा सुविधासँग सम्बन्धित रहेको जनाएको छ। तत्कालीन स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा कर्मचारी प्रशासनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार अस्थायी करार सेवामा रहेका कर्मचारीलाई सेवा अवधिका आधारमा उपदान रकम भुक्तानी गरिएको नगरपालिकाको भनाइ छ।
त्यस्तै संचित घर विदा, कर्मचारी विशेष सुविधा, प्रोत्साहन भत्ता सम्बन्धमा तत्कालीन स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २५० को उपदफा ३ बमोजिम “स्थानीय निकायले आफ्नो श्रोत, साधन र प्रशासनिक बजेटको परिधिभित्र रही आफ्ना कर्मचारीहरुलाई स्थानीय भत्ता, अन्य सुविधा दिन सक्नेछ” भन्ने व्यवस्था रहेको हुँदा सम्बन्धित नियमावली र कानुन बमोजिम भत्ता तथा सुविधा भक्तानी गरिएको नगरपालिकाले स्पष्ट पारेको छ ।
नगरपालिकाले २०८२ असोज २३ गते बसेको १३औँ नगरसभाबाट कानुनबमोजिम उक्त त्भुक्तानी नियमित गरिएको जनाएको छ। साथै, कर्मचारीको सेवा सुविधा सम्बन्धमा गरिएको भुक्तानीमा कुनै अनियमितता नभएको स्पष्ट पारेको छ।
नगरपालिकाले बेरुजुबारे फैलिएको अपुष्ट समाचारबाट भ्रममा नपर्न र सम्बन्धित विषयमा प्रकाशित आधिकारिक विवरणका आधारमा जानकारी लिन आग्रह गरेको छ।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार









