२२ असोज भक्तपुर। नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो छ ।
अहिले सम्म ७४ जिल्लामा स्क्रब टाइफसका विरामी भेटिएका छन् । सन् २०२६ को जनवरीदेखि हालसम्म १० हजार २१० जना संक्रमित भएको र संक्रमितमध्ये ७ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले संक्रमण नियन्त्रणका लागि रोगको निगरानी, परीक्षण, उपचार तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई तीव्र बनाएको जनाएको छ।
स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार नेपालमा स्क्रब टाइफसका संक्रमितको संख्या पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०७९÷८० मा ९ हजार २४३ संक्रमित रहेकामा २०८१/८२ मा यो संख्या बढेर २५ हजार ४९४ पुगेको थियो।
स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक ब्याक्टेरियाबाट हुने रोग हो। संक्रमित लार्भा माइटको टोकाइबाट यो रोग सर्छ। खेतबारी, घाँसे मैदान, झाडी तथा वन क्षेत्रमा यसको जोखिम बढी हुन्छ।
उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, कमजोरी, वाकवाकी र बिमिरा आउने यसका प्रमुख लक्षण हुन्। माइटले टोकेको स्थानमा कालो डामसमेत देखिन सक्छ। समयमै उपचार नहुँदा रोग गम्भीर बन्न सक्छ।
हाल प्रभावकारी नियमित खोप उपलब्ध नभएकाले जोखिमयुक्त क्षेत्रमा शरीर ढाक्ने कपडा र जुत्ता लगाउने, घाँसमा सिधै नबस्ने तथा सरसफाइमा ध्यान दिने र लामो समय ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउने चिकित्सकको सुझाव छ।
कसरी बच्ने ?
- खेतबारी, जंगल वा झाडीमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने
- मोजा र जुत्ता प्रयोग गर्ने
- घाँस वा जमिनमा सिधै नबस्ने
- आवश्यकताअनुसार माइट भगाउने रिपेलेन्ट प्रयोग गर्ने
- झाडी तथा अनावश्यक वनस्पति व्यवस्थापन गर्ने
- खेतबारी वा वन क्षेत्रमा काम गरेपछि शरीर र कपडा सफा गर्ने
- लामो समय ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउने
हाल स्क्रब टाइफसबाट बच्न नियमित रूपमा प्रयोग हुने प्रभावकारी खोप उपलब्ध छैन। त्यसैले संक्रमित माइटको टोकाइबाट बच्नु नै रोकथामको महत्वपूर्ण उपाय हो।
जोखिम कम गर्नस्
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार









