२२ असोज भक्तपुर चर्चित भारतीय अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा निधन भएको हो । उनलाई हृदयाघात (कार्डियक अरेस्ट) भएपछि अस्पताल लगिएको थियो ।
प्राप्त विवरणअनुसार, बिहीबार बिहान असहज महसुस गरेका पाटेकरलाई केही समयपछि निवासमै अचेत अवस्थामा भेटिएको थियो । त्यसपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकहरूले करिब ४५ मिनेटसम्म निरन्तर सीपीआर (CPR) सहित पुनर्जीवन प्रयास गरे पनि उनलाई बचाउन सकेनन् । उनलाई बिहान करिब ५ः२० बजे मृत घोषित गरिएको थियो ।
पाटेकरको निधनको प्रारम्भिक कारण कार्डियक अरेस्ट भनिए पनि मृत्युको यकिन कारणबारे थप स्पष्टताका लागि पोस्टमार्टम प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा जन्मिएका पाटेकरले सन् १९७८ मा ‘गमन’ फिल्ममार्फत अभिनय यात्रा सुरु गरेका थिए । करिब पाँच दशक लामो फिल्मी यात्रामा उनले हिन्दी तथा मराठी सिनेमामा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।
‘परिन्दा, क्रान्तिवीर, प्रहार, अब तक छप्पन, राजनीति, वेलकम, नटसम्राट’ लगायतका फिल्ममा उनको अभिनयले दर्शक तथा समीक्षकबाट व्यापक प्रशंसा पाएको थियो । विशेषगरी उनको प्रभावशाली संवाद प्रस्तुति, गम्भीर अभिनयशैली र जटिल चरित्रलाई जीवन्त बनाउने क्षमताका कारण उनी भारतीय सिनेमाका विशिष्ट अभिनेताका रूपमा स्थापित भएका थिए ।
अभिनयका लागि पाटेकरले तीनवटा राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेका थिए । भारतीय सिनेमामा पुर्याएको योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।
अभिनयसँगै पाटेकर सामाजिक सेवामा पनि सक्रिय थिए । विशेषगरी किसान तथा ग्रामीण समुदायका समस्या र कृषक परिवारलाई सहयोग गर्ने कार्यमा उनको संलग्नता उल्लेखनीय मानिन्छ ।
पाटेकरको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राजनीतिक नेता, कलाकार तथा फिल्मकर्मीले दुःख व्यक्त गरेका छन् । मोदीले पाटेकरलाई विशिष्ट प्रतिभा र आफ्नै शैलीका कारण पुस्तौँसम्म स्मरण गरिने कलाकारका रूपमा श्रद्धाञ्जली दिएका छन् ।
भारतीय सिनेमामा पाँच दशकभन्दा लामो योगदान दिएका पाटेकरको निधनलाई हिन्दी तथा मराठी फिल्म उद्योगका लागि ठूलो क्षतिका रूपमा लिइएको छ ।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार









