२१ असोज, भक्तपुर। सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाका १० वटै वडामा खेल मैदान निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ।
सूर्यविनायक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा नगर प्रमुख थापाले वडा नं. ९ मा अवस्थित रिकेटार खेल मैदानको निर्माण तथा विस्तारको काम तिहारपछि सुरु गर्ने गरी अघि बढिरहेको बताउनुभयो।
उहाँले प्रत्येक महिना कुनै न कुनै खेलकुद प्रतियोगिता आयोजना गर्ने गरी योजना बनाइएको पनि उल्लेख गर्नुभयो। भविष्यका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले हाल झण्डै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै थापाले बजेट अपुग भएमा अन्य शीर्षकबाट समेत मिलान गरी कार्यक्रमलाई अघि बढाउने आश्वासन दिनुभयो।
नगरपालिकाका हरेक क्षेत्रको विकासका लागि ५४ जना जनप्रतिनिधि एकढिक्का भएर अघि बढिरहेको बताउँदै उहाँले नगरवासीले तिरेको करको कहीँकतै दुरुपयोग नगरिएको दाबी गर्नुभयो।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले सम्मानित खेलाडीहरूलाई खेलकुदमा सहभागी हुँदा आफू एक्लै छु भन्ने नसोच्न आग्रह गर्दै सम्पूर्ण नगरपालिका र नगरवासीको साथ रहने भएकाले मनोबल उच्च राख्न हौसला प्रदान गर्नुभयो।
उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका खेलाडी र नगरपालिकाबीचको सम्बन्ध सुमधुर बनाउने तथा खेलाडीलाई नगरवासीसमक्ष परिचित गराउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी तथा प्रशिक्षकहरूलाई नगद पुरस्कार तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार









