२१ असोज भक्तपुर सूर्यविनायक नगरपालिकाले नगरभित्रका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। नगरपालिकाको खेलकुद विकास शाखाले विशेष कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरेको हो।
कराँते, तेक्वान्दो/आईटीएफ तेक्वान्दो, फुटबल, साभाते, रग्बी, भारोत्तोलन, भलिबल, शारीरिक सुगठन, कबड्डी र हक्कीलगायतका खेल विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको हो।
सम्मानित हुने खेलाडीमध्ये कराँतेतर्फ साफ च्याम्पियनसिपमा स्वर्ण पदक विजेता रामशरण त्वात तथा अन्तर्राष्ट्रिय पदक विजेता सन्ध्या नगरकोटी, समीक्षा नगरकोटी र सञ्जु नगरकोटी रहेका छन्। उत्कृष्ट प्रशिक्षकका रूपमा विक्रम लामालाई सम्मान गरिएको थियो।
त्यस्तै, तेक्वान्दो/आईटीएफतर्फ अन्तर्राष्ट्रिय पदक विजेता वैभवी सापकोटा र प्रभुराम के.सी.लाई सम्मान गरिएको थियो। तेक्वान्दो/आईटीएफतर्फकै शेरबहादुर थापा मगरलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो।
त्यसैगरी, फुटबलतर्फ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी गंगाराम देउजा सम्मानित हुँदा फुटबलकै ग्रासरुट लेभल ६–१० उमेर समूहका उत्कृष्ट खेलाडी शिवम् केसी र ११–१६ उमेर समूहका पुजन हिङ्ङजु सम्मानित हुनुभयो।
यसैगरी, साभातेबाट अन्तर्राष्ट्रिय पदक दिलाउन सफल बसिल त्वायना, एकिन कासुला, आरती सिलवाल र प्रभुराम के.सी.लाई सम्मान गरिएको थियो। नगरपालिकाले राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्बीतर्फ पदक जित्न सफल निरोज कार्की र विवस बासुलाई पनि सम्मान गरेको छ। यस्तै, साफ गेम्समा भारोत्तोलनतर्फ पदक जित्न सफल लक्ष्मी बनलाई सम्मान गरिएको थियो।
भलिबलतर्फ रुपककुमार विष्ट, शारीरिक सुगठनतर्फ अन्तर्राष्ट्रिय पदक विजेता सनम मुलगुठी, कबड्डीतर्फ राष्ट्रिय पदक दिलाउने रुपक भुजु र हक्कीतर्फ राम ढुङ्गानालाई सम्मान गरिएको थियो।
त्यसैगरी, खेलकुद क्षेत्रमा उत्कृष्ट विद्यालयका रूपमा अरनिको माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको छ।
नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले नगरको खेलकुद क्षेत्रलाई थप प्रोत्साहन गर्दै व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार









