२१ असोज काठमाडौं । काठमाडौं उपत्यकाका लगायत देशका विभिन्न स्थानमा अहिले वर्षा भइहेको छ ।
जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरको विवरण अनुसार अहिले देशका विभिन्न भुभागमा पानी परिरहेको छ । नमस्ते ख्वप टेलिभिजन रहेको सूर्यविनायक नगरपालिका सहित भक्तपुरका विभिन्न स्थानमा मेघ गर्जन सहित पानी परिरहेको छ भने विभागको जानकारी अनुसार चितवन, काठमाडौं, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पनि वर्षा भइरहेको छ ।
विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। चितवनको गोविन्दबस्ती र धनगढी विमानस्थल आसपासमा भने अन्य क्षेत्रको तुलनामा बढी वर्षा मापन गरिएको छ।
पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको विभागले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ।
बुधबार दिनभर देशका पहाडी र हिमाली भूभागमा बढी वर्षा हुने अनुमान गरिएको छ।
बिहीबार भने बुधबारको तुलनामा वर्षा केही कम हुनेछ। पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा भए पनि पश्चिमी र तराईका क्षेत्रमा वर्षाको मात्रा घट्ने विभागको पूर्वानुमान छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार









