१४ कार्तिक २०८३ ,शुक्रबार

ग्यासको खुद्रा बिक्रि बन्द गर्न महासंघको माग


२० असोज काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालले खाना पकाउने ग्यासको खुद्रा बिक्री बन्द गर्न माग गरेको छ ।

उपभोक्ताले लामो समयदेखि खाना पकाउने ग्यासको अभाव झेल्दै आइरहेका बेला महासंघले मंगलबार विज्ञप्ति जारी गरी खाना पकाउने ग्यासको खुद्रा बिक्रीमा रोक लगाउन माग गरेको हो ।

महासंघले आधिकारिक डिलर मार्फत मात्र ग्यास बिक्रि गर्न, समस्याको सहि पहिचान गरी सरोकारवाला निकायसँगको समन्वय र परामर्शमा ग्यासको सहज आपुर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।

बजारमा आवश्यकता भन्दा धेरै सिलिण्डर रहेका कारण ग्यासको अभाव भएको भन्ने जान्दा जान्दै पनि ग्यास उद्योगले २५०० रुपैयाँ देखि २७०० रुपैयाँसम्ममा नयाँ सिलिण्डर बिक्रि गरिरहेको र सरकार मौन बसेको आरोप लगाएको छ । साथै यस्तो मौनताले सरकार, आयल निगम र उद्योगीहरु प्रति संसय पैदा भएको समेत महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बजारमा अनावश्यक रुपमा रहेका सिलिण्डरको धरौटी फिर्ता लिनुको सट्टा ५ के.जी, ५० केजी र ४५० केजीको सिलिण्डर बिक्रिको योजना अघि सार्नु सभ्य समाजको पहिचान नहुने महासंघको भनाइ छ ।


प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?