२० असोज काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको सातौँ पूर्ण बैठक सम्पन्न भएको छ । ललितपुरको ग्वार्को स्थित एक होटलमा सम्पन्न बैठकमा पाठ्यक्रम परिमार्जनदेखि विद्यालय शिक्षा ऐन लगायतका विषयमा छलफल भएको छ ।
विशेषगरी पाठ्यक्रम परिमार्जन र विद्यालय शिक्षा ऐनका विषयमा सरकारलाई औपचारिक सुझाव दिने तयारी गरेको प्याब्सनले पूर्ण बैठकमा विभिन्न जिल्ला तथा क्षेत्रबाट संकलन गरेका सुझावमाथि प्रस्तुतीकरण र छलफल गरेको छ।
प्याब्सन केन्द्रिय महासचिव आर.बी कटुवालले निजि विद्यालयका लागि मात्र नभइ सिंगो राष्ट्रकै शिक्षाले फड्को मार्नुपर्छ मान्ने मान्यतालाई जोड दिँदै बालबालिकालाई रुचिकर हुने विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने सन्दर्भमा छलफल केन्द्रित रेहेको बताउनुभयो ।
त्यसैगरी बैठकमा फाउण्डेसन देखि १२ कक्षासम्म एउटै विद्यालय हुनु पर्ने र यदि कक्षा १२ सम्म संचालन गर्न नसक्ने विद्यालय संचालकले फाउण्डेसन देखि कक्षा ८ सम्म एउटा विद्यालय संचालन गर्नुपर्ने र परिक्षा दुई वटा बोर्डले लिन नहुने वातावरण बनाउनुपर्छ भन्ने सुझाव सरकारलाई दिने विषयमा पनि छलफल भएको महासचिव कटुवालले जानकारी दिनुभयो ।
कक्षा ८ देखि नै विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसार भविष्यको शैक्षिक बाटो छनोट गर्ने आधार तयार गर्नुपर्ने विषयलाई समेत प्याब्सनले प्राथमिकतामा राखेको छ ।
यसैगरी बैठकमा विद्यालय संचालकको लगानी सुरक्षाका लागि निजि विद्यालयहरुलाई कम्पनी अन्तर्गतनै रहन दिन सरकारलाई सुझाव दिने विषयमा पनि छलफल भएको बागमती प्याब्सनका अध्यक्ष मुरारी प्रकाश संजेलले बताउनुभयो । केहि सिमित व्यक्तिहरु विद्यालयलाई गुठीमा लग्नुपर्छ भनि वकालत गर्नुको पछाडी उनिहरुको स्वार्थ रहेको उल्लेख गर्दै संजेलले मिडियाबाजी नगर्न र विद्यालय संचालकको करोडौँको लगानी सुरक्षा र विद्यालय स्वस्फुर्त संचालनका लागि कम्पनी अन्तर्गत रहनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
विद्यालय सञ्चालनको स्वरूप, संस्थागत विद्यालयको व्यवस्थापन तथा नाफामूलक र गैरनाफामूलक प्रकृतिसम्बन्धी विषयलाई कानुनमै स्पष्ट व्यवस्था गर्नुपर्ने उनको धारणा छ।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार









