१५ कार्तिक २०८३ ,शनिबार

सूर्यविनायक नगरपालिकाको बजार अनुगमनः बिग्रिएको तथा खान अयोग्य मासु भेटियो


सूर्यविनायक नगरपालिका–क्षेत्रमा अनुगमन

२० असोज भक्तपुर। सूर्यविनायक नगरपालिका–क्षेत्रमा सञ्चालित विभिन्न मासु पसलहरुमा बिग्रिएको तथा खान अयोग्य मासु फेला परेको छ । त्यस्तै नगरपालिकाभित्र संचालित मासु पसलहरुमा पनि अखाद्य सामाग्री फेला परेको छ ।

नगरपालिकाको बजार अनुगमन टोलीले नगरभित्र संचालित पसलहरुको अनुगमनका क्रममा म्याद गुज्रिएका, अखाद्य तथा मापदण्ड विपरितका सामाग्रीहरु भेटिएको हो । नगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक सरिता तिमिल्सिना भट्टराईको नेतृत्वमा रहेको अनुगमन टोलीले त्यस्ता अखाद्य वस्तुहरु जफत गरी जरिवाना समेत गराएको छ ।

नगरपालिकाका कर्मचारीहरूको समेत सहभागिता रहेको अनुगमन टोलीले व्यवसाय सञ्चालनको अवस्था, खाद्यवस्तुको गुणस्तर तथा म्याद, भण्डारण, सरसफाइ र उपभोक्ता हितसँग सम्बन्धित विषयहरूको निरीक्षण गरेको उपप्रमुख सरिता भट्टराइले बताउनु भयो ।

त्यस क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीहरूलाई तत्काल व्यवसाय दर्ता गरी कानुनी प्रक्रियाअनुसार व्यवसाय सञ्चालन गर्न चेतावनी दिइएको छ ।

टोलीले नगरवासी तथा उपभोक्तालाई पनि खाद्यवस्तुको म्याद, गुणस्तर, मूल्य र स्वच्छता जाँच गरेर मात्र खरिद गर्न आग्रह गरेको छ ।

 


प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?