१८ असोज, भक्तपुर पूर्वाधार विकास मन्त्रालयले उपत्यकाको यातायात सुधारका लागि सुरुङ मार्गदेखि फ्लाइ ओभर, अण्डरपास देखि रेल प्रणाली सहितको गुरुयोजना तयार पारेको छ । मन्त्रालयले जाइकाको प्राविधिक सहयोगमा उक्ता गुरुयोजना तयार पारेको हो ।
रत्नपार्कदेखि भक्तपुरसम्म करिब साढे १६ किलोमिटर रेल प्रणालीसहितको गुरुयोजनामा सुझाव दिन ३० दिनको समय दिइएको छ ।
सन् २०४० सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको रेल प्रणाली सहरी मुख्य क्षेत्र र कोटेश्वरमा भूमिगत तथा अरनिको राजमार्गमा पिलरमाथि रहने प्रस्ताव छ ।
चाबहिल–गौशालामा चार लेनको सुरुङ मार्गको प्रस्ताव गरिएको मस्यौदा अनुसार महाराजगञ्जमा अन्डरपास र विभिन्न स्थानमा फ्लाइओभर पनि प्रस्तावित छन्।
बस सेवा सुधार्न उपत्यकालाई छ सञ्चालन क्षेत्रमा बाँड्ने योजना छ । त्यस्तै ठूला तथा विद्युतीय बस थप्ने र बस तथा रेलमा एउटै विद्युतीय भुक्तानी प्रणाली अपनाउने योजनामा उल्लेख छ । सार्वजनिक मस्यौदा अनुसार उक्त गुरुयोजनालाई तीन चरणमा कार्यान्वयनमा ल्याउने तयारी छ । सन् २०३२, २०४० र २०५० सम्मका तीन चरणमा कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ ।
प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार









