१४ कार्तिक २०८३ ,शुक्रबार

१ रुपैयाँ दरका ४० करोड थान सिक्का डिजाइनका लागि बोलपत्र आह्वान


१८ असोज, भक्तपुर नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का डिजाइन, टकमरी (मिन्टिङ) तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आइतबार उक्त सूचना जारी गरेको हो । जारी सूचना अनुसार यसअघि नै पूर्व–योग्यता सूचीमा परेका विदेशी कम्पनीहरूबाट सिलबन्दी प्रस्ताव माग गरिएको हो ।

कम्पनीहरूले आगामी ३ नोभेम्बर २०२६ को दिउँसो १२ बजेभित्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा आइपुग्ने गरी बोलपत्र बुझाउनु पर्नेछ । प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो १ बजे बोलपत्रदाता वा उनका प्रतिनिधिको उपस्थितिमा खोलिने सुचनामा उल्लेख छ ।
राष्ट्र बैंकले यो खरिद प्रक्रिया Single Stage Two Envelope  अर्थात  ‘एकल चरण, दुई खाम’ विधिबाट अघि बढाएको छ । यस विधिअन्तर्गत बोलपत्र दाताले प्राविधिक र आर्थिक (मूल्य) प्रस्ताव छुट्टाछुट्टै खाममा सिलबन्दी गरी एउटै मुख्य खामभित्र पेस गर्नु पर्नेछ ।

इच्छुक पूर्व–योग्य सूचीमा रहेका कम्पनी वा उनीहरूका आधिकारिक एजेन्टले आवश्यक कागजात सहित आगामी २ नोभेम्बर २०२६ सम्म बोलपत्र फाराम खरिद गर्न सक्नेछन् । फाराम दस्तुर बापत फिर्ता नहुने गरी २० हजार नेपाली रुपैयाँ अर्थात १३१ अमेरिकी डलर वा ११५ युरो तोकिएको छ । यस्तै, खरिद प्रक्रियाबारे छलफल गर्न आगामी १५ अक्टोबर २०२६ मा थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा प्रि–बिड बैठक राखिएको सुचनामा उल्लेख छ ।

बोलपत्र पेस गर्दा कम्पनीहरूले कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलर (वा सो बराबरको विदेशी मुद्रा÷नेपाली रुपैयाँ) बराबरको बिड सेक्युरिटी (धरौटी) पेस गर्नु पर्ने सूचनामा उल्लेख छ । बोलपत्र खोलेको मितिले १२० दिनसम्म प्रस्ताव मान्य रहनेछ । धरौटीको म्याद थप ३० दिन अर्थात् २ अप्रिल २०२७ सम्म कायम हुनुपर्ने छ ।

सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका कम्पनी, फर्म वा सञ्चालकहरू यस प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?