२१ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिका–४, दधिकोटबाट प्रहरीले लुटपाटको आरोपमा चार जनालाई पक्राउ गरेको छ। दधिकोटस्थित अनन्तलिङ्गेश्वरको खड्का गाउँमा धारिलो हतियार देखाएर ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–६ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका–७, गुण्डु बस्ने १९ वर्षीय सौरभ मगर, काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चारघरेका ३० वर्षीय निलकुमार बस्नेत, दोलखाको कालिञ्चोक गाउँपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका–७, गुण्डु बस्ने २० वर्षीय अस्मित गजमेर र रामेछापको मन्थली नगरपालिका–१ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका–४, दधिकोट बस्ने १९ वर्षीय नविन राउत रहेका छन्।
प्रहरीका अनुसार उनीहरू बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद तथा मोबाइल लुटपाटमा संलग्न थिए।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार









