२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ ।
घर भाडामा लिएर सुनको अवैध कारोबार तथा प्रशोधन गर्ने गरेको सुराकीका आधारमा प्रहरीले बुढानिलकण्ठस्थित उक्त घरमा बिहीबार छापा मारेर करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा एक साताभन्दा बढी समय निगरानी गरेपछि कारबाही अघि बढाएको थियो । प्रहरीले घरबाट सुन गाल्ने, गुणस्तर जाँच्ने तथा विभिन्न आकारमा ढाल्ने उपकरणसमेत बरामद गरेको छ ।
बरामद सुनमध्ये करिब १० किलो तयार अवस्थामा र ११ किलो प्रशोधन गर्न बाँकी रहेको प्रारम्भिक विवरण छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुनलाई प्रशोधन गरी भारततर्फ तस्करी गर्न खोजिएको आशंका गरिएको छ । सुन कहाँबाट ल्याइएको थियो, यसको वास्तविक मालिक को हो र कारोबारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार









