१५ कार्तिक २०८३ ,शनिबार

देशभर ४२ हजार ६ सय ईसीडी केन्द्र संचालनमा


१८ असोज, भक्तपुर । शैक्षिक सत्र २०८२/८३ मा प्रारम्भिक बालविकास तथा शिक्षामा १२ लाख भन्दा धेरै बालबालिका भर्ना भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८ ३ को वार्षिक प्रतिवेदन अनुसार प्रारम्भिक बालविकास तथा शिक्षामा १२ लाख २० हजार ५ सय ३८ बालबालिका भर्ना भएका हुन् । तीमध्ये ५ लाख ४७ हजार ५ सय ८५ छात्रा र ६ लाख ७२ हजार ९ सय ५३ छात्र छन्। प्रतिवेदन अनुसार कक्षा १ मा भर्ना हुने विद्यार्थीमध्ये प्रारम्भिक बालविकास तथा शिक्षाको अनुभव लिएर आउनेको अनुपात ७७.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७६.९ प्रतिशत रहेकामा यस वर्ष ०.६ प्रतिशतले वृद्धि भएको हो । प्रारम्भिक बालविकासमा छात्राको सहभागिता छात्रको तुलनामा कम रहेकाले लैङ्गिक समानताका दृष्टिले थप सुधार आवश्यक रहेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार शैक्षिक सत्र २०८२ मा देशभर ४२ हजार ६ सय १९ प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी) केन्द्र सञ्चालनमा रहेका छन् । तीमध्ये ३४ हजार ३ सय ५६ अर्थात् ८०.६१ प्रतिशत सामुदायिक तथा सरकारी, ८ हजार २ सय ६३ अर्थात् १९.३९ प्रतिशत संस्थागत र ६०१ वटा धार्मिक विद्यालयमा सञ्चालित केन्द्र रहेका छन्।

शैक्षिक सत्र २०८२ मा देशभर आधारभूत तथा माध्यमिक तहका विद्यालयमा २ लाख ७२ हजार ४ सय ५६ शिक्षक कार्यरत रहेका छन्। तीमध्ये १ लाख २१ हजार ८ सय ९१ अर्थात् ४४.७३ प्रतिशत महिला र १ लाख ५० हजार ५ सय ६५ अर्थात् ५५.२६ प्रतिशत पुरुष शिक्षक रहेका छन्।
आधारभूत तह कक्षा १ देखि ८ सम्म भने महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी छ। यस तहमा १ लाख ९६ हजार २ सय ६० शिक्षक कार्यरत रहेकामा १ लाख ८ हजार १५ अर्थात् ५५.०३ प्रतिशत महिला र ८८ हजार २ सय ४५ अर्थात् ४४.९६ प्रतिशत पुरुष शिक्षक छन् ।
तर माध्यमिक तहमा महिला शिक्षकको सहभागिता निकै न्यून छ। कक्षा ९ देखि १२ सम्म कुल ६७ हजार ९७ शिक्षक कार्यरत रहेकामा पुरुष शिक्षकको संख्या ५३ हजार २ सय ११ अर्थात् ७९.३१ प्रतिशत छ । महिला शिक्षकको संख्या भने १३ हजार ८ सय ८६ अर्थात् २०.६८ प्रतिशत मात्रै रहेको छ ।

यसले आधारभूत तहको तुलनामा माध्यमिक तहमा महिला शिक्षकको प्रतिनिधित्व कमजोर रहेको देखाएको छ। समग्र शिक्षकमा महिलाको सहभागिता ४४.७३ प्रतिशत रहे पनि माध्यमिक तहमा महिला शिक्षकको संख्या बढाउन थप पहल आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा कुल २ खर्ब २४ अर्ब ६० करोड ३० लाख ४० हजार रुपैयाँ संशोधित बजेट विनियोजन गरिएको थियो।

कुल बजेटमध्ये संघीय तहका लागि ६७ अर्ब ३७ करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको थियो। संघीय बजेटमध्ये चालुतर्फ ६१ अर्ब १४ करोड १० लाख ८० हजार रुपैयाँ विनियोजन भएकामा ८८.३२ प्रतिशत वित्तीय प्रगति भएको छ। पुँजीगततर्फ ६ अर्ब २३ करोड १३ लाख २४ हजार रुपैयाँ विनियोजन भएकामा ५४.१२ प्रतिशत वित्तीय प्रगति भएको प्रतिवेदनमा उल्लेख छ।

शिक्षा क्षेत्रमा तीनै तहको बजेट हिस्सामध्ये स्थानीय तहको हिस्सा सबैभन्दा बढी छ। कुल शिक्षा बजेटमा स्थानीय तहको हिस्सा ६६.८७ प्रतिशत, संघीय तहको ३०.९३ प्रतिशत र प्रदेश तहको २.१९ प्रतिशत रहेको छ।

मन्त्रालयले शिक्षकको कार्यक्षमता अभिवृद्धि तथा पेसागत विकासका लागि विभिन्न तालिम र प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

 

Full Report:

https://giwmscdnone.gov.np/media/pdf_upload/ProgressReport_pruhazr.pdf


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?