१५ कार्तिक २०८३ ,शनिबार

कोरला नाकालाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा स्तरोन्नति गर्न चीनको प्रस्ताव



१९ असोज काठमाडौं । रसुवागढी र तातोपानी नाकामा बारम्बार देखिँदै आएको अवरोधका बीच चीनले मुस्ताङको कोरला नाकालाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा स्तरोन्नति गर्न प्रस्ताव गरेको छ । नेपाल–चीन व्यापार तथा आवागमनका लागि महत्वपूर्ण मानिएको यो नाकालाई थप व्यवस्थित बनाउन चीनले नेपाल समक्ष प्रस्ताव गरेको हो ।

प्रारम्भिक चरणमा चीनले एक वर्षका लागि अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा कोरोला नाका सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ।
हाल कोरला नाका हुँदै सीमित रूपमा व्यापारिक गतिविधि हुँदै आएको छ। रसुवागढी–केरुङ र तातोपानी नाकामा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण व्यापारिक आवागमन प्रभावित भएपछि कोरला नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा थप महत्वपूर्ण बनेको छ।

चीनले कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार विकासमा सहयोग गर्ने इच्छा समेत व्यक्त गरेको छ। यद्यपि, चीनले यसका लागि कति रकम उपलब्ध गराउने भन्ने विषयमा अहिलेसम्म कुनै निश्चित वित्तीय प्रतिबद्धता भने सार्वजनिक गरेको छैन।

नेपालतर्फ भने भन्सार, अध्यागमन, सडक, विद्युत्, खानेपानी, सञ्चार तथा अन्य आवश्यक पूर्वाधारको थप विकास गर्नुपर्ने आवश्यकता छ। कोरला नाका समुद्री सतहबाट करिब ४,६५० मिटरको उचाइमा रहेकाले अत्यधिक चिसो, हिमपात र कठिन भौगोलिक अवस्थाका कारण वर्षभरि सञ्चालन गर्नु चुनौतीपूर्ण मानिन्छ।

कोरला नाका अन्तर्राष्ट्रिय रूपमा सञ्चालनमा आएमा नेपाल–चीन व्यापारका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुनुका साथै मुस्ताङको पर्यटन, विशेषगरी धार्मिक तथा सीमापार पर्यटनमा समेत सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।

यसअघि नेपाल र चीनबीच भएको सहमतिअनुसार चीनले कोरलामा चीनको सहयोगमा इनल्यान्ड क्लियरेन्स डिपो (ICD) तथा इन्टिग्रेटेड चेक पोस्ट (ICP) निर्माणमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको थियो।

विशेषगरी रसुवागढी र तातोपानी नाकामा हुने अवरोधका बेला कोरला नाकाले नेपालको उत्तरी व्यापारिक सम्पर्कका लागि महत्वपूर्ण वैकल्पिक मार्गको भूमिका खेल्न सक्ने देखिएको छ।

यद्यपि, कोरला नाकाको अन्तर्राष्ट्रिय स्तरोन्नतिको प्रस्ताव कार्यान्वयन भएपछि मात्र यसको दीर्घकालीन व्यापारिक र रणनीतिक प्रभाव स्पष्ट हुनेछ।


प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?